• १३ साउन २०८१, आइतबार

बारेकोटको स्वास्थ्य सेवा उत्कृष्ट

blog

जाजरकोट समाचारदाता

जाजरकोट, भदौ २७ गते । जाजरकोटका सातवटा स्थानीय तहमध्ये बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट काम गरेको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको वार्षिक समीक्षामा बारेकोटले विगत वर्षझैँ यस वर्ष पनि प्रथम स्थान हासिल गरेको जनाइएको छ। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलका अनुसार ४३ वटा सूचकमा गरिएको तथ्याङ्कमा बारेकोटले ६६.७१ प्रतिशत प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।

स्वास्थ्य सेवा व्यवस्थापनसम्बन्धी पालिकास्तरीय स्वास्थ्य तथा सरसफाइ ऐन, नीति बनेको÷नबनेको, बजेट खर्चको अवस्था, तथ्याङ्क व्यवस्थापनका लागि आवश्यक व्यवस्था (जनशक्ति, इन्टरनेटको उपलब्धता आदि)जस्ता नौवटा सूचक रहेका छन्। स्वास्थ्य सेवा कार्यालयको मूल्याङ्कनका पाँचवटा सूचकहरू (समन्वय, सहभागिता, प्रस्तुतीकरण, कार्यक्रम कार्यान्वयन, कोभिड–१९ व्यवस्थापन)को आधारमा छनोट गरिने प्रमुख कँडेलले जानकारी दिनुभयो । बारेकोट गाउँपालिकामा ९९ प्रतिशतभन्दा बढी महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुने गरेका छन्।

स्वास्थ्य संस्थाबाट नियमित गर्भ जाँच गराएबापत चार सय रुपियाँ तथा सुत्केरी भएमा एक हजार रुपियाँ प्रोत्साहन रकमसमेत दिँदै आएको थियो। बारेकोट स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले गाउँपालिकाबाट थप एक हजार रुपियाँ थप गरेपछि पाँच वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको सङ्ख्या चार गुणाले बढेको बताउनुभयो।