• ७ जेठ २०८१, सोमबार

‘चिनियाँ जन कांग्रेस स्थायी समिति अध्यक्ष लीसँग कुरा राख्छु’

तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : मन्त्री खड्का

blog

परराष्ट्रमन्त्री डा. नारायण खड्का । फाइल तस्बिर

काठमाडौं, भदौ २६ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ। 

आइतबार मन्त्रालयमा हिमालपारि व्यापार सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

मन्त्री खड्काले नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग पनि कुरा गरिरहेको जानकारी दिनुभयो। उहाँले चिनियाँ पक्षसँगको भेटमा नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाउनु भयो। उहाँले  दशैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताउनु भयो। उहाँले सोमबार चिनियाँ जन काँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मङ्गलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकोसमेत उल्लेख गर्नुभयो। 

चिनियाँ स्थायी समिति अध्यक्ष लीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने उहाँको भनाइ छ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली सोमबार चार दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। मन्त्री खड्काले भन्नुभयो, ‘चाँडो भन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु। 

यो चापलाई जतिसक्दो चाँडो खुलाउनुपर्‍यो भनिरहेको छु। भोलि चिनियाँ राष्ट्रिय कांग्रेसका सभामुख नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ। यसबारेमा मसँग पर्सी शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला । यसलाई म तदारुकताका साथमा दशैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने हिसाबले पहल गर्नेछु। यहाँहरूको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ।’’