• १६ भदौ २०८१, आइतबार

भक्तपुरको राधे–राधेबाट नक्कली नगारिकता र प्रवेशपत्र बनाउने पाँच जना पक्राउ

blog

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते ।
भक्तपुरको राधे–राधेबाट लिखत कसुरमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली–११ टाँडी घर भई हाल काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनीष श्रेष्ठ, सिन्धुलीकै दुधौली–४ घर भई हाल काठमाडौं, तीनकुने बस्ने २० वर्षीय मनीष लामिछाने, कालिकोट महाबई–१ घर भई हाल भक्तपुरको कटुञ्जे बस्ने २४ वर्षीय इन्द्रबहादुर शाही, सिन्धुलीको दुधौली–१४ का २१ वर्षीय टुल्कु सिंह तामाङ र गोरखाको भीमसेन स्थान–१ का २२ वर्षीय राजकुमार श्रीमल छन् ।

उहाँहरुलाई मध्यपुरको ठिमी नगरपलिका–५ राधे राधेस्थित ‘ईजी वे ट्रायल सेन्टर’मा नक्कली नगारिकता र नक्कली प्रवेशपत्र बनाइरहेका अन्य व्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

ट्रायल दिने कार्यमा संलग्न हुँदै आएका पाँचै जनालाई विभिन्न मितिमा प्रहरी वृत्त ठिमीले नक्कली नागरिकता, पासपोर्ट, प्रवेशपत्र, रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको हो ।

पाँचै जनामाथि लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिनुभयो ।