• ६ जेठ २०८१, आइतबार

हुम्लाका गाउँपालिकाको बेरुजु ३१ करोड भन्दा बढी

blog

हुम्ला भदौ २३ गते । जिल्लाको सात वटै गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु ३१ करोड भन्दा बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक भएको वार्षिक प्रतिवेदन अनुसार ठुलो मात्रामा बेरुजु भएको पाइएको छ । 

प्रतिवेदनले गाउँपालिकाहरूको कुल बेरुजु रकम ३१ करोड १५ लाख ८८ हजार रुपियाँ रहेको औँल्याएको छ । सो बेरुजु रकम असुल उपर गर्नुपर्ने र नियमित गर्ने रहेको छ । यसमा सङ्घ र प्रदेशको अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र अन्य आय शीर्षकबाट प्राप्त भएको रकममा बेरुजु औँल्याएको छ । कुल बेरुजु औँल्याएको रकम मध्ये चार करोड असुलउपर गर्ने प्रकृतिको भएको प्रतिवेदनले देखाएको छ । 

जसमा कर जम्मा नभएको रकम पनि देखाइएको छ । भने बाँकी आवश्यक कागजात नमिलेकोले नियमित गर्ने खालको देखाइएको छ । प्रतिवेदन अनुसार सबै भन्दा बढी सर्केगार्ड गाउँपालिकाको १२ करोड ९३ लाख ६८ हजार औँल्याइएको छ भने अदानचुली गाउँपालिकाको आठ करोड ७१ लाख २९ हजार देखिइएको छ । त्यसैसरि ताँजाकोट गाउँपालिकाको तीन करोड ६८ लाख नौ हजार रहेको छ ।

सिमकोट गाउँपालिकाको दुई करोड ९० लाख २९ हजार बेरुजु देखाइएको छ । यता चङ्खेली गाउँपालिकाको बेरुजु रकम एक करोड ४९ लाख ८१ हजार, खार्पुनाथ गाउँपालिकाको एक करोड चालीस लाख १८ हजार र सबै भन्दा कम नाम्खा गाउँपालिकाको बेरुजु रकम १४ लाख तीन हजार मात्र रहेको छ । 
Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।