• ७ वैशाख २०८१, शुक्रबार

डुबान प्रभावित समस्यामा

blog

धनगढी समाचारदाता

धनगढी, भदौ २३ गते । कैलालीको डुबान प्रभावित स्थानीय समस्यामा परेका छन्। घरमा पानी पसेर अन्नबाली र लत्ताकपडा भिज्नुका साथै हिलो जमेपछि उनीहरू समस्यामा परेका हुन्। शुक्रबारसमेत डुबान भएका धेरैजसो घरबाट अझै पनि पानी पूर्ण रूपमा निस्केको छैन। 

डुबानका कारण अन्नबाली भिजेर नोक्सान भएको भजनी नगरपालिका–२, मोहनपुरका गङ्गा चौधरीले बताउनुभयो। “पल्टुपुरका धेरैजसो परिवारको अन्नपात भिजेर नोक्सान भएको छ,” उहाँले भन्नुभयो, “पानी पसेको सबैको घरमा हिलैहिलो भएको छ।” कैलालीमा आएको बाढीका कारण ३८० भन्दा बढी घर डुबानमा परेका हुन्। भजनी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुर नगरपालिकामा घरमा पानी पसेको छ। सबैभन्दा बढी भजनी नगरपालिकाका घर डुबान परेका छन्। यहाँ ३२७ भन्दा बढी घर डुबानमा परेको नगरपालिकाले जानकारी दिएको छ।  

भजनी नगरपालिकाका विपत् स्रोत व्यक्ति खिम पनाडीका अनुसार वडा नम्बर २, ३ र ८ मा रहेका घर डुबानमा परेका छन्। वडा नम्बर ८ मा मात्रै दुई सय घर डुबानमा परेको उहाँले जानकारी दिनुभयो। पथरैया, मोहना नदीको बाढीले बहादुरपुर, छछ्रहवा, सोनाफाँटा, काँढाढिक, खैरा, दैलेखी टोलका घरहरूमा डुबान भएको छ। 

भजनी नगरपालिका–२ मा काँढा नदीको बाढीले डुबान भएको छ। नदीमा आएको बाढी ‘ओभर फ्लो’ भएर घरमा पसेको वडाध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो। उहाँका अनुसार मोहनपुरमा ७२, पल्टुपुरमा ४०, तीनघरुवामा १५ घरमा पानी पसेको छ। मोहनपुर काँढा नदीको ढिकमै रहेकाले बढी घरमा पानी पसेको जनाइएको छ। 

घर डुबानमा परे पनि ठूलो क्षति भने नभएको मोहनपुर गाउँका स्थानीय गङ्गा चौधरीले जानकारी दिनुभयो। “पल्टुपुरमा भने स्थानीयवासीको चामल, धानलगायत खाद्यान्न बाली भिजेको छ,” उहाँले भन्नुभयो, “अन्यतिर भने ठूलो क्षति भएको छैन।”

बढी समस्या भएमा नजिकै रहेको विद्यालयमा गएर बस्नका लागि आफूले सल्लाह दिएको वडाध्यक्ष पुनले बताउनुभयो। भजनी नगरपालिका जिल्लाको सबैभन्दा होचो भागमा रहेको पालिका हो। सो नगरपालिकामा हरेक वर्ष डुबान हुँदै आएको छ। वडा नम्बर ८ मा लगातार डुबान भइरहेको जनाइएको छ। सो वडाको विभिन्न गाउँमा केही दिनअगाडि मात्रै पनि डुबान भएको थियो। हप्ता दिन नपुग्दै फेरि डुबान भएको हो। बिहीबार सो वडाको विभिन्न गाउँका दुई सय घरमा पानी पसेको थियो। शुक्रबार आएको बाढीले फेरि डुबान भएको विपत् स्रोत व्यक्ति पनाडीले जानकारी दिनुभयो। 

“डुबान भए पनि विगतको जस्तो ठूलै समस्या भने भएको छैन,” उहाँले भन्नुभयो, “मानिसहरू अझै घरमै छन् तर केही परिवारले हुलाकी सडकमा बस्ने तयारी गरिरहेका छन्।” पथरैया नदीको बाढी पसेर टीकापुर नगरपालिका–७, प्रतिपुर गाउँमा तीनरचार घर डुबानमा परेका छन्। धेरै घरमा पानी नपसे पनि नदीमा पानीको सतह धेरै बढेकाले तटीय क्षेत्रमा त्रास बढेको सो वडाका स्थानीय भोजराज ढुङ्गानाले बताउनुभयो।  यसैगरी कैलारी गाउँपालिका–७ को बड्का वसन्ता, छटकपुर वसन्ता र भुइँयाफाँटा गाउँका गरी ५० भन्दा बढी घर डुबानमा परेका छन्। कटैनी नदीमा आएको बाढीले ती गाउँका घरमा डुबान भएको वडाध्यक्ष दीपेन्द्र बमले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीको पानी घरमा पसेर अन्नबाली भिजेको छ।