• ८ जेठ २०८१, मङ्गलबार

गाउँ विवादले पुल निर्माण अलपत्र

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, भदौ २३ गते  । पुगाउत्तरगङ्गा गाउँपालिका–१० र ११ वडामा पर्ने दुई गाउँको विवादले पुल निर्माणको काम अलपत्र परेको छ । वडा नम्बर ११ तल्लो सेरा र १० मा पर्ने माथिल्लो सेरा दुई गाउँको विवादले उत्तरगङ्गा नदीमा मोटरेबल पुल निर्माणको काम अलपत्र अवस्थामा पुगेको हो । पुल निर्माणका लागि छ वर्षअघि तल्लो सेरास्थित उत्तरगङ्गा नदीमा डीपीआर बनाइएको थियो ।

पुल निर्माणका लागि डीपीआर भएर पनि माथिल्लो सेराले माथिल्लो सेरामा पुल निर्माण गर्नुपर्ने अडान राखेपछि दुई गाउँबीच विवाद उत्पन्न भएको हो । उक्त पुल राष्ट्रिय गौरवको आयोजना शहीद मार्गअन्तर्गतको हो । दाङ–रोल्पा–रुकुमपूर्व–डोल्पालाई जोड्ने शहीद मार्ग खण्ड हो । हाल दाङ हुँदै रोल्पा भएर रुकुमपूर्वको पुथाउत्तरगङ्गा–५, हुकामसम्म सडक पुगेको छ तर उत्तरगङ्गा नदीमा पुल नभएका कारण हरेक बर्खायाममा सवारीसाधन नदी वारपार हुन सकेका छैनन् । पुल निर्माणका विषयमा दुई गाउँको विवाद हुँदा पुल निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो । अहिले भने तल्लो सेरा, माथिल्लो सेरा गाउँपालिका र शहीद मार्ग डिभिजन कार्यालय रोल्पासँगको नियमित छलफल भइरहेको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । 

शहीदमार्ग डिभिजन कार्यालय रोल्पाका प्रमुख पवन भट्टराईले पनि स्थानीय तह हुँदै पुल निर्माण महाशाखा, प्रदेश र सङ्घीय मन्त्रलायसँग समन्वयमार्फत पुल निर्माणको कार्य अघि बढाउन लागिएको जानकारी दिनुभयो ।