• १३ साउन २०८१, आइतबार

सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

blog

सिराज खान

नेपालगञ्ज, भदौ २३ गते । जिल्ला विपत् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिस गरेको छ । बेमौसमी वर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस वर्ष वर्षा नहुँदा खडेरी परेको छ । 

धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुने देखिएकाले विपत् व्यवस्थापन समितिले नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राहत पठाउन सरकारलाई सिफारिस गरेको हो । 

प्रयाप्त वर्षा नहुँदा ८५ प्रतिशत खेतबारीमा रोपाइँ नगरिएको तथा १५ प्रतिशत गरिएको रोपाइँ पनि सुकेर नष्ट भएपछि स्थानीय सरकारले गत साउन २६ गते नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेर राहत माग गरेको थियो । 

सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर किसानलाई राहत उपलब्ध गराउनका लागि प्रदेश र सङ्घलाई सिफारिस गरेको विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।  

बाँकेका आठवटै पालिकाका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थितिमा बसेको समितिको बैठकले गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । 

यहाँ प्रयाप्त सिँचाइ, वैकल्पिक बाली प्रवद्र्धन तथा राहत वितरणको व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको समितिले जनाएको छ ।