• १३ असोज २०८१, आइतबार

न्यायालयको निर्णय हो, काम चलाउ सरकार नभन्नुहोस् : कानुनमन्त्री शर्मा

blog

प्रतिनिधिसभामा धारणा राख्नुहुँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २१ गते। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जिम्मेवार ठाउँमा बसेर स्वतन्त्र न्यायपालिकाले गरेको निर्णयलाई काम चलाउ सरकार नभन्न आग्रह गर्नुभएको छ। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्नु हुँदै उहाँले प्रतिपक्ष दलका सांसदले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउन नभन्न भन्दै आक्रोश पोख्नु भएको हो। 

उहाँले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको उल्लेख गर्दै एकछिनको न्यानो नहेरी भावी दिनलाई सोचेर बोल्नुपर्ने बताउनु भयो। मन्त्री कोइरालाले विदेश नीति र स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभावी शब्द प्रयोग नगर्न विपक्षी दल नेकपा (एमाले) का सांसदसँग आग्रह गर्नुभयो। 

उहाँले नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई व्यंग्यात्मक रुपमा संसदमा प्रश्न उठाइरहने हो भने कस्तो न्यायपालिकाको कल्पना गरेका हौँ ? भन्दै प्रश्न गर्नुभयो। उहाँले संसदमा परराष्ट्र नीतिका बारेमा सांसदले जथाभावी बोल्दा परराष्ट्रसँगको सम्बन्ध बिग्रिँदै गइरहेको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘‘हामी हरेक पटक काम चलाउ सरकारको कुरा किन गरिरहेका छौँ ? के कुरा गरिरहेका छौँ हामी ? हाम्रो संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? हामी अहिले पनि जिम्मेवार ठाउँमा बसेर भोलि सरकार चलाउनु पर्नेहरुले भनिरहेका छौँ ।

अहिले एकछिनको न्यानो नहेरौँ, भोलि हामीलाई यिनै रेकर्ड भएर बसेका कुराले बद्दधनमा पार्ने छ। अहिलेको प्रतिपक्षलाई भोलि सरकार चलाउनु पर्छ। विदेश नीतिमा हामीले विवाद गर्नुहुन्न, स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभावी शब्द प्रयोग गर्नुहुन्न।

हामी हमेसा परमादेशी सरकार भन्छौँ, म निवेदन गर्न चाहन्छु आज पनि यो शब्द आयो, नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई हामीले व्यंग्यात्मक रुपमा यो संसदमा प्रश्न उठाइरहन्छौँ भने कस्तो न्यायपालिकाको कल्पना हामी गरिरहेका छौँ।’’

मन्त्री कोइरालाले नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधि सभाको कार्यकाल चालु रहने प्रस्तावबाट सरकार पछि हटेको बताउनुभयो। मन्त्री कोइरालाले यही विषयलाई राजनीति बनाएर जान आवश्यक नरहेको पनि औंल्याउनु भयो। उहाँले एउटा संविधानविद्ले भनेको भरमा संसदको कार्यकाल सुरु र अन्त्य हुनु नहुने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘‘मान्य सांसदहरुले उठाएको कानुनको कुरामा मेरो बिमति छैन। तर, यसमा राजनीतिको गरेको बारेमा मेरो बिमति छ। यही विषयलाई राजनीति नबनाऔँ। राजनीति नगरेर पनि मुलुक चलाउन सकिन्छ। यसमा राजनीति गरिरहनु आवश्यक छैन।’’

मन्त्री कोइरालाले कानुनमन्त्रीले आफ्नो समयावधि बढाउनका लागि प्रस्ताव ल्याएको भन्ने कतिपय सांसदले आरोप लगाएकोप्रति आपत्ति जनाउनु भयो ।