• ११ मंसिर २०८१, मङ्गलबार

पहिरोका कारण बिचल्ली

blog

बाजुरा समाचारदाता

बाजुरा, भदौ २० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुडाबाउलाको दलित बस्तीका दर्जनौँ घरपरिवारको उठीबास भएको छ। गत बुधबार राति परेको अविरल वर्षाका कारण बस्तीको माथिबाट आएको पहिरोले घर पुरिदिएपछि पुडाबाउलाको दलित बस्तीका दर्जनौँ परिवारको उठीबास भएको खप्तड छेडेदह गाउँपालिका–३ का प्रेम सुनारले बताउनुभयो।

उहाँले भन्नुभयो, “पानी परेको बेलामा फेरि पहिरोले ठूलो रूप लिने हो कि भन्ने डरले यहाँका दर्जनौँ परिवारले घर छोडेर आफन्तकहाँ बस्ने गरेका छन्।” पुडाबाउला बस्ती निकै भिरालो ठाउँमा भएकाले कति बेला पूरै बस्ती नै पहिरोमा पुरिने हो कि भन्ने डरैडरमा रात काट्ने गरेको सुनारले बताउनुभयो। सोही वडाका वडाध्यक्ष बिर्खबहादुर रावतले गत असारको पहिलो हप्तादेखि भदौसम्म परेको पानीका कारण बाढीपहिरोले पुडाबाउला, धुर्तोला, मौवाडी, टुनिसैन, धनाल्तलगायतका बस्ती जोखिममा रहेको बताउनुभयो। बाढीपहिरोको जोखिममा रहेका यी बस्तीको स्थानान्तरण गर्नका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा जानकारी गराएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो। पुडाबाउलाको दलित बस्तीमा पहिरोले बाली पुर्नुका साथै दर्जनौँ घरमा ठूलो नोक्सानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक रामबहादुर थापाले जानकारी दिनुभयो।