• १३ साउन २०८१, आइतबार

नमुना सहर बन्न सक्छ भरतपुर

blog

भरतपुर समाचारदाता

चितवन, भदौ १९ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर एकीकृत विकासको नमुना सहर बन्न सक्ने बताउनुभएको छ । शनिबार चितवनको भरतपुर महानगरपालिका केन्द्रित कार्यक्रममा बोल्दै प्रचण्डले भरतपुरले गरेको विकास देशका अन्य सहरको लागि नमुना बन्नसक्ने बताउनुभएको हो ।

उहाँले नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुरमा आयोजना गरेको मुख्य सहरी क्षेत्रको विद्युत्को वितरण प्रणाली भूमिगत गर्ने आयोजनाको गैँची चलाएर शिलान्यास गर्नुभयो । यस्तै उहाँले भरतपुर–२७, मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नतिका लागि ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गर्नुभएको थियो । 

भूमिगत विद्युतीकरण परियोजनाले विद्युत् प्रणालीको गुणस्तर वृद्धि गर्नुका साथै प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभएर सहरको सौन्दर्यीकरणका लागि महत्वपूर्ण हुने उहाँले बताउनभयो ।

नारायणी नदीमा निर्माण हुने ‘सिग्नेचर’ पुलको पनि औपचारिक सुरुवात गरिने प्रचण्डले बताउनुभयो । उहाँले मेघौली विमानस्थल चितवनको पर्यापर्यटनको इतिहास भएको बताउँदै यसको स्तरोन्नति गरी नियमिति सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको थियो ।  

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण यतिबेला १६ अर्ब नाफामा रहेको र ५० अर्बभन्दा बढी आफैँले लगानी गर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभएको थियो । सवारीसाधन र घरायसी प्रयोगमा विद्युत्को उपभोग बढाउन आवश्यक रहेको र यसमा ४० अर्ब रुपियाँको लगानीले वार्षिक पाँच खर्ब रुपियाँको आयात विस्थापन गर्न सकिने उहाँको दाबी थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मेघौली विमानस्थलको स्तरोन्नतिको प्रक्रिया सुरु भइसकेको बताउँदै फिल्ड सर्भे रिपोर्ट आएपछि सबै प्रक्रिया पूरा गरेर टेन्डर प्रक्रियामा जाने बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विमानस्थल स्तरोन्नति र भूमिगत विद्युतीकरणले भरतपुर महानगरपालिकाको स्मार्ट सिटी अवधारणा सार्थक बनाउन कोशेढुङ्गा साबित हुने बताउनुभयो । 

भूमिगत विद्युतीकरण परियोजनाको लागत नेपाल सरकार र विद्युत् प्राधिकरणको तर्फबाट ४९ करोड ६८ लाख ३१ हजार ८९९ रुपियाँ ८० पैसा र एसियाली विकास बैङ्कको एक करोड ६७ लाख २० हजार ८५१.६२ अमेरिकी डलर गरी झन्डै दुई अर्ब ६० करोड नेपाली रुपियाँ रहेको छ । परियोजना भारतको टाटा प्रोजेक्टले सन् २०२४ को जनवरी १९ मा सक्ने गरी २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरिसकेको छ ।