• २८ वैशाख २०८१, शुक्रबार

हाम्रा सम्पदा

दिव्यनगरः जहाँ छ प्राचीन कालिका देवीको मन्दिर

blog

चितवन, भदौ १८ गते । चितवन जिल्लाको ज्योतिनगर वडा नं २६ अर्थात यसलाई दिव्यनगर पनि भनिन्छ। यही स्थलमा रहेको छ प्राचीन कालिका देवीको मन्दिर। भनिन्छ, पौराणिककालमा पाण्डवहरुले यहाँ मन्दिर बनाउन लगाएका थिए। यस स्थलमा ४ वटा माटोको ढिस्का अर्थात स्तुपा जस्तो थियो।

यस स्थलको पुरानो नाम रातापुर  थियो। यहां पहिला अर्थात २०२४ सालमा कालिका देवीको मन्दिर गुम्बज शैलीको सानो थियो। थारु समुदायका जनजातिहरुले आफनो संस्कृति अनुसार भौलो राखेर जेठ महिनामा पूजा अर्चना गर्दथ्ये।


हांस, कुखुरा, परेवा, भेडा, बाख्राको बलि दिएर गुरहु पूजासमेत गर्ने गर्दथ्ये। प्राचीन यस कालिका देवीको मूर्तिलाई निकै नै सुरक्षितका साथ राखिएको छ। यस धार्मिक स्थलमा प्रत्येक वर्ष धार्मिक पुराण लगाइन्छ। हालसम्म ३४ वटा पुराण सम्पन्न भइसकेको छ। त्यसैले यस धार्मिक स्थललाई नैभिषाख्य क्षेत्र बनाउन स्थानीयवासीहरुको लक्ष्यसमेत रहेको छ।

मन्दिर भित्र जाँदा दायाँ र बायाँ लहरै विभिन्न देव देवताहरुको मूर्ति रहेका छन् । मध्य भागमा ठूलो कालिका देवीको मूर्ति रहेको छ भने त्यही मूर्तिको तल सानो प्राचीन कालिकादेवीको मूर्ति छोपेर राखिएको छ। कालिका देवी मन्दिरको अगाडि १०८ शिवलिंग रहेका छन्।


शिव भगवानको मूर्ति, बसाहा आदि रहेका छन्। मन्दिर परिसरमा मण्डप, पुजारी बस्ने घर, भजन मण्डल आदि रहेका छन्। यो कालिका देवीको मन्दिर  ६ कठठा १९ धुर जग्गामा रहेको छ।

मन्दिरको नजिकै आदिवासी थारु समुदायको संग्रहालयसमेत रहेको छ। मन्दिरको नजिकै ऐतिहासिक अन्जना ताल सडक किनारमा नै छ। स्थानीयवासीका अनुसार, यस तालको पानी आजसम्म सुकेको थाहा छैन, र सुक्दा पनि सुक्दैन भन्ने जनविश्वास रहेको छ।


मन्दिर समितिले यस ताललाई भविष्यमा पर्यटकीय स्थलको रुपमा बिच बिचमा  विभिन्न देव देवताहरुको मूर्ति राखेर मन्दिर बनाउने योजना रहेको छ। तालको संरक्षणका लागि चारैतिर पर्खाल लगाउने र पूर्वमा १०८ वटा धारा बनाउने सोचसमेत रहेको छ।