• ४ जेठ २०८१, शुक्रबार

दुई विद्यालय र छ वटा कक्षा समायोजन

blog

कक्षा समायोजना भएको महाकाल आवि लाङ्दुु । तस्बिर: राजन रावत

हुम्ला, भदौ १४ गते  । गाउँपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका छ वटा विद्यालयका कक्षा र दुई वटा विद्यालयलाई समायोजन गरेको छ । शिक्षक भए पनि विद्यार्थी सङ्ख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो ।

गाउँपालिकाको शिक्षा शाखाका नायब सुब्बा कृष्ण प्रसाद आचार्यले धेरै लामो प्रयासपछि न्यून विद्यार्थी भएका कक्षा र विद्यालयहरूलाई समायोजन गर्न सफल भएको बताउनुभयो । विद्यालयमा पाँच जना विद्यार्थी र एउटा कक्षामा दुई जना मात्र विद्यार्थी सङ्ख्या भएपछि गाउँपालिका त्यस्ता कक्षा र विद्यालयलाई समायोजन गर्न बाध्य भएको हो । उहाँले चार वर्ष अगाडीदेखिको प्रयास अहिले आएर सफल भएको बताउनुभयो । 

यसरी गाउँपालिकाले समायोजन गरेका विद्यालयहरूमा वडा नम्बर ४ को कक्षा पाँचसम्म स्वीकृत पाएको हिम गिरी प्राविलाई सोही वडाको रलिङ मावि र वडा नम्बर १ को बैजिवाडा आधारभूत विद्यालयलाई चाङ्ला हिमाल आधारभूत विद्यालयमा समायोजन गरिएको छ । भौतिक संरचना राम्रो भए पनि ती विद्यालय बन्द हुनेछन् । हिम गिरीमा पाँच जना विद्यार्थी र बैजिवाडा आवमा चार जना विद्यार्थी रहेका थिए । ती दुवै विद्यालयका शिक्षकहरूलाई पनि समायोजन भएका विद्यालयमा पठाइएको छ । 

त्यसैगरी कक्षा समायोजन गरिएका विद्यालयबाट कक्षा चार र पाँचलाई अर्को विद्यालयमा सारिएको छ । यसरी कक्षा समायोजन गरिएका विद्यालयमा महाकाल आधारभुत विद्यालय लाङ्दुबाट सिद्धार्थ आधारभुत विद्यालय बुराउसे, सर्किदेऊ आधारभुत विद्यालयबाट कैलाश मावि, भिमसेन आधारभूत विद्यालयबाट बालमन्दिर मावि, दोभान आवबाट कर्णाली मावि, हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयबाट भिमसेन आधारभुत विद्यालय र जनज्योति आधारभूत विद्यालयबाट बालमन्दिर मावि रहेका छन् । कक्षा समायोजन भएको ती सबै विद्यालयमा अव कक्षा तीनसम्म मात्र अध्ययन हुनेछन् । 

गाउँपालिका अध्यक्ष बिजय भण्डारीले आवश्यक र बाध्यताका आधारमा विद्यालय र कक्षा समायोजन गर्नु परेको बताउनुभयो । उहाँले यसबाट शिक्षक अभाव र राज्यको श्रोत दुरुपयोग हुने कार्य रोकिने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालयमा विद्यार्थी सङ्ख्या निक्कै कम भएको कारण हाललाई विद्यालय बन्द गर्नु परेको बताउँदै उहाँले आवश्यकता महसुस भएपछि अनुमति दिन सकिने बताउनुभयो । यो सँगै अब उक्त गाउँपालिकाले शिक्षक दरबन्दी मिलान कार्यलाई पनि अगाडि बढाउने तयारी गरेको छ ।   

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।