• १३ साउन २०८१, आइतबार

एक सातामा १८ जनामा डेङ्गु सङ्क्रमण

blog

मुसीकोटमा रहेको साझा मुराल अस्पताल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुम पश्चिम, भदौ १३ गते ।
 रुकुम पश्चिममा डेङ्गुका बिरामी बढ्दै गएका छन् । जिल्लामा पछिल्लो एक सातामा १८ जनामा डेङ्गु फेला परेको बताइएको छ । जिल्ला अस्पताल सल्ले र एक निजि अस्पतालमा मात्र एक हप्तामा १८ जना डेङ्गुका बिरामी फेला परेका हुन् ।

जिल्ला अस्पताल सल्लेमा चारजना र साझा मुराल अस्पतालमा आएका १४ जनामा डेङ्गु भेटिएको हो । जिल्ला अस्पताल सल्लेका मेडिकल रेकडर राजेन्द्र ओलीका अनुसार पछिल्लो एक सातामा अस्पतालमा आएका चार जनामा डेङ्गु फेला परेको हो । त्यसमध्ये एक जनालाई नेपालगन्ज रिफर गरिएको छ भने तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको ओलीले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिका–१ मा रहेको साझा मुराल अस्पतालमा पनि एक सातामा १४ जना डेङ्गुका बिरामी फेला परेका छन् । अस्पतालका प्रबन्धक डा. दीपक पुनका अनुसार अस्पतालमा भर्ना भएका आठ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने पाँच जना अस्पतालमा उपचाररत छन् । उनीहरू सबैको अवस्था सामान्य नै रहेको छ । एक जनालाई भने थप उपचारको लागि रिफर गरिएको छ । बिरामी हुनेहरूमा ६ महिनाको बालकदेखि वृद्धासम्म रहेका छन् ।

डा. पुनका अनुसार घर तथा बजारका विभिन्न स्थानमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लामखुट्टेको टोकाइ बढेको र सचेतनाको अभावका कारण डेङ्गु फैलने गरेको हो ।

विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । डा. पुनले गर्मी स्थान तथा तराईका ठाउँमा फेला पर्ने डेङ्गु पछिल्लो समय पहाडी क्षेत्रहरूमा फैलँदै गएको समेत बताउनुभयो ।

डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त विकल्प रहेको डा. पुनले बताउनुभयो । उहाँका अनुसार एक जनाको पहलले मात्र डेङ्गु नियन्त्रण सम्भव नभएकोले सबै जना लाग्न आवश्यक छ ।

डेङ्गुको सङ्क्रमण बढिरहँदा स्वास्थ्य कार्यालय तथा स्थानीय सरकारले सचेतनाको कार्यक्रम सञ्चालन नगरेको जनगुनासो बढेको छ । यस विषयमा मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले कुनै पनि कार्यक्रम नआएको बताउनुभयो । उहाँले गत वर्ष भने किटजन्य महामारीअन्तर्गत विषादी छर्ने कार्यक्रम गरिएता पनि यस वर्ष लामखुट्टे नियन्त्रणको कुनै कार्यक्रम नरहेको जानकारी दिनुभयो ।