• १३ साउन २०८१, आइतबार

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु, एक बेपत्ता

blog

पहिरोले क्षति गरेको सानीभेरी गाउँपालिका ५ का गोपाल कुसारीको घर । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ १२ गते । शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरामापरी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता हुनुभएको छ भने एक बालिकाको जीवितै उद्धार गरिएको छ ।   

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका -१४ पीपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका -१ मैदैकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहनुभएको छ । पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ ।  

आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका –१ स्थित माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उहाँहरु पीपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्नुभएको थियो । सोही समयमा घर माथिबाट आएको पहिरोमा परेर उहाँहरु पुरिनुभएको थियो । 

नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायिक घरको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको प्रजिअ घिमिरेले बताउनुभयो । घाईते तिर्सनालाई एम्बुलेन्स मार्फत अस्पताल लगिएको छ ।  

पहिरोले सोही ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार सोही पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पनि पुरेको छ । सामुदायिक वनको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोसँगै आएको बाढीले स्थानीयका केही घर जोखिममा परेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । 

आइतबार नै जिल्लाको सानीभेरी गाउँपालिका ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा ३ का दलबिर गुरुङ बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको थियो । 

यसैगरी सानीभेरी गाउँपालिका –५ घापागारमा पहिरोकोका कारण स्थानीय गोपाल कुसारीको घर भत्किएको छ । घर भत्कदा कुसारीको पाँच बर्षिया छोरी सुस्माको दायाँ खुट्टा भाँचिएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । घरमा बाँधेर राखिएका दुई वटा भैसी समेत पहिरोमा पुरिएर मरेका छन् । स्थानीयले प्रजिअ घिमिरेलाई जानकारी गराएअनुसार सोही ठाउँका चन्द्रबीर पुन र अमर पुनको घर पहिरोको उच्च जोखिममा परेको छ ।