• १३ साउन २०८१, आइतबार

भगवान् भेट्न ‘स्वर्ग जाने बाटो’

blog

म्याग्दी (बेनी), भदौ ११ गते । आफन्तजन ८४ वर्ष पुग्दा खुसियालीमा भोज खुवाउन वा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्न खर्च गरिने रकम पदमार्ग निर्माणमा लगानी गर्ने चलन उदाहरणीय बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार र आसपासका गाउँलेले आफन्त ८४ वर्ष पुगेपछि भगवान् भेट्न जाने बाटो निर्माण गरिदिने अनौठो चलन चलाएका छन् । 

निजी खर्चमा कालीगण्डकीको तीरदेखि अन्नपूर्णको फेदीमा रहेको धार्मिकस्थल खयरभारानी थानसम्म पुग्ने पदमार्ग निर्माणको अभियान आठ वर्षदेखि कायम छ । सामाजिक सेवाको भावले गाउँलेले स्वतस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् । 

सुरुवातमा पाउद्वारवासीले मात्र सुरु गरेको यो अभियानमा अहिले आसपासका छिमेकी गाउँले जोडिएका छन् । खयरभारानी जाने बाटो निर्माणपछि सामाजिक सेवाका साथै पुण्य मिल्ने विश्वास यहाँका स्थानीयले गर्दै आएका छन् । खयरभारानी थान क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले भन्नुभयो, “अहिलेसम्म पदमार्ग बनाउन स्थानीयले दुई करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् ।” 

खयरभारानीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको छ । खयरभारानी प्रसिद्ध शक्तिपीठमध्येकै एक मानिन्छ । सो शक्तिपीठसम्म जान कतिपय स्थानमा पदमार्ग बनाउन र रेलिङ हाल्न अझै बाँकी छ । पाउद्वार गाउँका ८४ वर्ष पुगेका पाँच जना ज्येष्ठ नागरिकले आफ्नो ८४ पूजाको सट्टा सबैभन्दा अप्ठ्यारो उकालोमा नौ लाख ५० हजार रुपियाँ खर्चिएर भ¥याङसहितको पदमार्ग निर्माण गरिदिएका छन् । कोषका संयोजक पुनले त्यसरी निर्माण गरिएको पदमार्गलाई ‘चौरासीको उकालो’ भनेर नामकरण गरिदिएपछि पदमार्ग निर्माणमा अन्य व्यक्तिले पनि धमाधम इच्छा देखाउन थालेको बताउनुभयो ।

यो पदमार्ग बनाउन स्थानीयले दुई करोड रुपियाँभन्दा बढी खर्च गरिसकेका छन् । सामाजिक सेवाको भावले गाउँलेले स्वतःस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् । 

हाल पोखरा बस्दै आउनुभएका स्थानीय कृष्णबहादुर तिलिजाले बाबु ८४ वर्ष उमेर पुग्नुभएको अवसरमा पूजा गर्नुभन्दा उहाँको सम्मान स्वरूप सात लाख रुपियाँको लागतमा ५८५ वटा भर्याङसहितको पदमार्ग बनाइदिनुभयो । स्थानीय तिलिजाले बाबुको इच्छामा ८४ पूजाको रकम खयरभारानीमा बाटो निर्माणमा खर्च गरिएको बताउँदै भन्नुभयो, “बाबुको इच्छा पूरा गर्न पदमार्ग निर्माण गरिदियौँ । अप्ठ्यारो भीरमा पदमार्ग बनेपछि भक्तजनलाई सहज भएको कुरा सुनाउँदा बुबा निकै खुसी हुनुभयो ।” 

खयरभारानीको दर्शन गर्न पुग्नुभएका बेनीका विमल रिजालले पितृको उद्धार होस् भनेर बाटो, खानेपानीको धारा र चौतारा निर्माण गरेर आफ्ना मातापितालाई स्मरण गर्ने चलन रोचक लागेको र यो चलन सामाजिक सेवाको उत्कृष्ट नमुना भएको बताउनुभयो । अझै धेरै स्थानमा पदमार्ग बनाउन बाँकी छ । गाउँलेको नमुना काम देखेर गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले १३ लाख रुपियाँ बराबरको पदमार्ग निर्माण गरिदिएको थियो । पाउद्वारदेखि खोप्रा हुँदै खयरलेकसम्म पुग्न करिब दुई दिनको पैदलयात्रा गर्नुपर्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलामा देखिने सूर्योदय र सूर्यास्तको दृश्य, याक फार्मिङ, हरियाली घाँसै मैदान, भीरपहरा, हिमाली ताल र विभिन्न वन्यजन्तु तथा भेडापालनको अवलोकन गर्न पाइन्छ । 


Author

ठाकुरप्रसाद आचार्य