• ७ जेठ २०८१, सोमबार

कम्मर मर्काइ मर्काई नाच्न थालेपछि...

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते। कलाकारहरू स्वतिका ढकाल, सज्जा चौलागाईं र ममता गुरुङले तीजका गीत गाउन थालेपछि गोरखापत्र संस्थानका महिला कर्मचारी लयमा लय मिलाउँदै कम्मर मर्काइ मकाई नाच्न थाल्नुभयो।

कोरोना सङ्क्रमणका कारण विगत केही वर्षदेखि तीज कार्यक्रम नहुँदा महिला कर्मचारीबीच नै चिनजानसमेत गर्न कठिन थियो। यस पटक संस्थान व्यवस्थापनले तीजमा शुभकामना साटासाट गर्नका लागि प्रोत्साहित गरेपछि महिला कर्मचारीहरूको भेट जुरेको हो। 


महिला कर्मचारी  छमछम नाच्न थालेपछि अथितिका रुपमा आमन्त्रित पुरुषले पनि नाचेर तीजको रमाइलोलाई अझ ऊर्जा थपेका थिए।

कार्यक्रममा नेपाल आइडलमा उत्कृष्ट १० भित्र परेका कलाकारत्रय ढकाल, चौलागाई र गुरुङलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको पहिलो अङ्क अंकित मायाको चिनो प्रदान गरेर सम्मानित गर्नुभयो।

कार्यक्रमको सुरुमा सम्बोधन गर्नुहुँदै कार्यकारी अध्यक्ष सुवेदीले तीज रमाइलो पर्व मात्र नभएर महिलाको निष्ठा, समर्पण, धैर्य र साहससँग जोडिएको पर्व हो भन्नुभयो।



यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पूर्वीय मूल्य मान्यताका धेरै राम्रा सांस्कृतिक पक्ष रहेका र तीजमा आमा, दिदी, बहिनीलाई सम्मान दर्शाउने राम्रो परम्परा रहेको छ भन्नुभयो।

संस्थानको प्रविधि विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थानमा कार्यरत ११२ जना महिला कर्मचारीबीच बल्ल भेट गर्ने मौका मिलेकोमा खुसी प्रकट गर्नुभयो ।

राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह विष्णु भगवानसँग गर्न लागेको थाहा पाएपछि पार्वतीले त्यसलाई अस्वीकार गरिन्। त्यति मात्र होइन शिवजी वरलाई पाउन पार्वतीले कठोर तपस्या गरी शिवजीसित विवाह भएको दिनको स्मरणमा हरितालिका तीज मनाउने प्रचलन  छ।


कलाकारत्रय स्वतिका ढकाल, सज्जा चौलागाईं र ममता गुरुङलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको पहिलो अङ्क अंकित मायाको चिनो प्रदान गरेर सम्मानित गरेपछि सामूहिक तस्बिर । तस्बिर : केशब गुरुङ