• १३ साउन २०८१, आइतबार

मृतक खड्गविक्रमविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

blog

काठमाडौँ, भदौ १० गते । बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उहाँविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। 

राजपरिवारका ज्वाइँसमेत रहनुभएका शाहको २०५८ साल जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा निधन भएको थियो। कर्मचारीलाई प्रलोभनमा पारेर शाहले धनुषाको पिडारी चोकस्थित रत्नसागर मन्दिरको जग्गा आफ्नो नाममा ल्याएको आयोगको आरोप छ। 

फौजदारी कार्यविधि संहिताले निधन भएका व्यक्तिलाई जेल र जरिवानाको सजाय हुन नसक्ने व्यवस्था गरेको छ। उक्त संहिताले अपराधीसँगै अपराध पनि मर्दछ भन्ने न्यायको सर्वमान्य सिद्धान्तलाई अङ्गीकार गरेको छ तर भ्रष्टाचार निवारण ऐनले भने निधन भइसके पनि व्यक्तिको हकमा सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था गरेको छ। सोही व्यवस्थाबमोजिम शाहलाई कारबाहीको माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सो व्यवस्थाअनुसार बिगो दाबी गरिएको रकम शाहको नाममा रहेको कुनै सम्पत्ति वा उहाँको नामबाट नजिकको हकवालाको नाममा गएको भए सोही सम्पत्तिबाट असुल गर्न आयोगले माग गरेको छ। शाहले गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई समेत प्रभावमा पारेर मन्दिरको नाममा रहेको आठ बिघा १० कट्ठा १२ धुर जग्गा आफ्नो नाममा पारित गराएको आयोगले दाबी गरेको छ।

शाहसँगै मन्दिरको जग्गा व्यक्तिको नाममा कायम गराउने काममा संलग्न भएको आरोपमा आयोगले गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पञ्जियार, खरिदार जगदेव कामतीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरू मन्दिरको जग्गा व्यक्तिको नाममा पारित गराउने, हाल साबिक गराउने तथा उक्त कामको टिप्पणी उठाएर स्वीकृति दिने काममा संलग्न भएका थिए। 

चारै जनालाई जनही २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ। साथै सोही कार्यमा संलग्न भएको अभियोगमा अन्य २७ जनाविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ। जसमा दिवशविक्रम शाह, विभाकुमारी यादव, राजकिशोर महासेठ, विमलादेवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफुलाकुमारी देवी, लीलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञानदेवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा छन्। 

त्यस्तै नितुकुमारी झा, शर्मिलाकुमारी, रेणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत, रीतादेवी, सिकलीदेवी यादव, नवीनकुमार झा, मनिषाकुमारी झा, मीना कर्ण, विपेन्द्रकुमार मिश्र, राधिकादेवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा दायर गरिएको छ।