• ११ असोज २०८१, शुक्रबार

मेयर कप स्नुकर हुने

blog

काठमाडौँ, भदौ ९ गते । छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता भदौ २५ गतेदेखि हुनेछ। प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। 

आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः दुई लाख ५१ हजार, एक लाख ११ हजार र ५१/५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। १४७ अङ्क ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई एक लाख एक हजार र ८० अङ्कसम्म ब्रेक गर्नेलाई २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार रुपियाँ पुरस्कार दिइनेछ। प्रिक्वार्टरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिनेछ। नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घका अध्यक्ष सरोजकुमार मुल्मीले प्रतियोगितामा सङ्घको प्राविधिक सहयोग रहने जानकारी गराउनुभयो।