• १३ साउन २०८१, आइतबार

पहिरोको जोखिममा खाँडा गाउँ

blog

नौमुले गाउँपालिका-८ चौराठा खाँडा गाउँमा गएको पहिरो। तस्बिर : कमल शर्मा

कमल शर्मा   

दैलेख, भदौ ८ गते। लगातारको वार्षातका कारण नौमुले गाउँपालिका-८ चौराठा खाँडा गाउँ पहिरोको जोखिममा परेको छ। खाँडा गाउँको फेद भागमा पहिरो जाँदा खाँडा बस्तीका १० घर पहिरोको जोखिम परेका हुन्। नौमुले गाउँपालिका-८ का वडाध्यक्ष दीपक हमालले पहिरो गएको खाँडा गाउँका अधिकांश घर पहिरोको जोखिममा रहेको जानकारी दिनुभयो। 

उहाँले पहिरो जाँदा त्यहाँको ५० रोपनीमा लगाएको मकै बाली नष्ट भएको बताउनुभयो । उहाँले वडा कार्यालय बाट पहिरोको अवलोकन गरी आवश्यक सहयोगका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित रूपमा बस्न आग्रह गरिएको छ। बस्तीको सुरक्षाका लागि तटबन्धन र राहतको लागि पालिकालाई खबर गरिएको बताउनुभयो। 

 नौमुले गाउँपालिका-८ का भवानी अधिकारीले पहिरो जाँदा आफूहरू राम्रोसँग सुत्न नपाएको बताउनुभयो। उहाँले पहिरोले लगाएको मकै बालीसमेत नष्ट भएपछि आफूहरू समस्यामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मकै भाँच्ने बेला भएको थियो पाक्न लागेको बालीसमेत पहिरोले बगाएको छ।’ 

नौमुले-८ कै दिलिप विकले पहिराले गर्दा मकै बाली नष्ट भएको र आफूहरूलाई खाद्यान्न सङ्कट पर्ने बताउनुभयो। लगातार पानी परेको खण्डमा बस्ती नै बग्ने खतरा रहेको छ ।