• १३ साउन २०८१, आइतबार

छाप्रोको बासमा बादी समुदाय

blog

भाडाको जमिनमा छाप्रोको वास, दैनिक मजदुरी गर्दै छाक टार्दै बादी समुदाय । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, भदौ ८ गते ।
खाँडाचक्र नगरपालिका –१ को सडक छेउमा माटोको छाप्रो भएको एक घर छ । त्यही घरमा बस्दै आउनुभएका गंगा बादी आफ्नो नामको पुर्जाको खोजिमा हुनुहुन्छ । बिना प्रमाण भाडाको जमिनमा माटोको सानो छाप्रो हालेर बस्न थालेको २१ वर्षभयो । जग्गा पाउने आसमा दुई दशक बिते तर कसैले आधिकारीक पुर्जा भएको जग्गा उपलब्धका लागि पहल नगरिदिएको उहाँको गुनासो छ ।

वर्षातमा मुसलधारे पानी र हिउँदमा चिसो सिरेटो बादी समुदायका लागि समान्य लाग्न थालिसकेको छ । नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो जग्गाजमिन र घरमा बस्न पाइन्छ भने आशामा रहेका बादी समुदायका नागरिक अहिले पनि जग्गाजमिनको अभावमा जस्तापाताको छाप्रोमा कष्टकर जिवन जिउन बाध्य छन् । वर्षौदेखि चिसो पीडाबाट गुर्जिरहेका अर्का कृष्ण बादी निर्वाचनमा आफ्नो बस्ती एजेण्डा बन्ने गरेको बताउनुहुन्छ । नगरपालिका प्रमुखदेखि संघ र प्रदेशका सांसद चुन्ने चुनावमा आफ्नो बस्ती निकै चर्चामा आउने गरेको कृष्णले सुनाउनुभयो । तर, चुनावपछि कसैको मुखबाट आफ्नो समुदायका बारेमा कुनै शब्द सुनिदैन ।

कृष्णले जग्गाजमिन बिना कालीकोटमा १४ घरपरिवार बस्दै आएको २१ वर्ष पूरा भएको स्मरण गर्नुभयो । दैलेखको ढुङ्गेश्वरबाट हामी आएका हौ । खोलाको बसाई भएकाले त्यहाँबाट यहाँ आयौँ । यहाँ पनि ठाउँ त खोला भेटिएन । तर, जमिन नहुँदा र आफ्नो घरवास नहुँदा झन दुः ख हुने गरेको बादी समुदायको गुनासो छ । दुई घर परिवारलाई छ वर्ष अघि सरकारको जनता आवासले घर बनाई दिएको थियो । ती पनि वर्षातले भत्किन लागेको छ । अरु सबै भाडाको जमिनमा टहरा बनाएर बस्दै आएका छन् । घरवार नभएका उहाँहरु अहिले बिहानदेखि साँझसम्म अरूकै घरमा ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टारिरहेका छन् ।

न जमिन छ, न त आफू बस्ने घर नै छ । पक्का सुकुम्बासीका रुपमा जिवन बिताइरहेका समुदाय प्रति कसैको ध्यान छैन । पटक–पटक पत्रकारले कुरा उठाउछन् तर सरकारले भने नसुन्ने गरेको हस्तबादीको भनाइ छ । काम पाएमा गाउँमै काम गर्ने र नपाए भारत तिर गएर ज्याला मजदुरी गरी चार जनाको परिवार पाल्दै आएका हस्ताबादी भोटका लागि मात्र आफुहरु परिचित भएको बताउनुहुन्छ । कर्णालीका बादी समुदायले व्यवस्थित बसोबासको माग गर्दै आएको धेरै भयो । कर्णाली प्रदेश सरकारसँग धर्नासम्म बसे तर सरकारले कुनै प्रतिक्रिया दिएन ।

राष्ट्रिय भूमि आयोग कालीकोटमा निवेदन दिँदा पनि अहिलेसम्म सुनवाइ नभएको बादी समुदायको भनाइ छ । राष्ट्रिय भूमि आयोग कालीकोटका अध्यक्ष चित्रसिंह गाउँले आफु नेतृत्वको समितिले कुनै पनि काम अगाडि नबढाएको बताउनुभयो । उहाँले आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भुमि प्राप्तिका लागि आयोगको केन्द्रीय कार्यालयबाट टोली कालीकोट आएपछि मात्र ३५ दिने सूचना निकालेर नयाँ काम थालनी गर्ने बताउनुभयो ।

पुरानो आयोगले के गर्यो थाहा भएन । तर, आफुहरुले काम शुरु नगरेको सिहंको भनाइ छ । यता खाँडाचक्र नगरपालिकाले पनि एक दुई बोरा चामल दिनु बाहेक केही अरु सहयोग गरेको देखिदैन । खास थातथलो नभएका कालीकोटका बादी समुदायलाई बस्ने बास र खाने गासको चिन्ताले सताइरहन्छ ।