• १३ साउन २०८१, आइतबार

उर्वर जमिन अधिग्रहण न घडेरी, न अन्नपात

blog

राजु लामिछाने

मुसीकोट, भदौ ८ गते । रुकुमपश्चिममा रहेको नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन बाँझै रहेको छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहेको हो ।  नयाँ सहर आयोजनाअन्तर्गत चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो । 

नयाँ सहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलासुस्तीका कारण हुन नसकेको जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको ‘अर्वान प्लानिङ कन्सल्टेन्ट’ले असारमै डीपीआर गरेर काम सुरु हुने योजना रहेको बताए पनि किसानलाई यस पटक खेती नगर्न सूचना गरेकाले खेतीयोग्य जमिन यस पटक बाँझै रहेको आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका निमित्त आयोजना प्रमुख कमल दर्लामीमगरले कन्सल्टेन्टले ब्लकको ‘लाइनिङ’को काममा ‘गाइड’ नगरिदिँदा प्लटिङको काम हुन नसकेर जग्गा बाँझै रहेको बताउनुभयो । यही कामका लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष छ करोड सोही शीर्षकमा आएको कार्यालयले जनाएको छ ।

यस विषयमा अर्वान प्लानिङ कन्सल्टेन्टका मनीष जोशीले आफ्ना कारणले ढिलाइ नभएको बताउनुभयो । सर्वे गरेर सडकको डिजाइनसहितको नक्सा नयाँ सहर आयोजना कार्यालयलाई बुझाइसकेको जानकारी दिँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादातासँग बसेर छलफल गर्नमात्र बाँकी रहेको उल्लेख गर्नुभयो । यहाँका ९५९ घरधुरीले ‘टाउन प्लानिङ’का लागि नयाँ सहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीका लागि दिएका किसानले जमिन बाँझै राख्नुपरेको भन्दै चिन्ता गरेका छन् । चौरजहारी नगरपालिका–१, घारीगाउँका भद्रलाल शर्माले घडेरीको काम सुरु हुने भएकाले खेती नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “न घडेरीको काम सुरु भयो न त खेती गर्न पायौँ, जमिन बाँझै रह्यो ।” सोही वडाको नाखिरागाउँकी सीता गिरीले धान र मकै रोप्ने याममा रोप्न नदिएपछि जमिन बाँझै रहेको जनाउनुभयो । सबै गाउँलेको जमिन बाँझै रहेकाले यस पटक धान र मकै अभाव हुन सक्ने उहाँको बुझाइ छ ।

आठ वर्षसम्म ढिलासुस्ती 

२०७२ सालमा नयाँ सहर आयोजनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयोजनाले सुस्त गतिमा काम गरेको स्थानीयको गुनासो छ । आयोजना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ती जडान, सामुदायिक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेल सम्पन्न गरेको जनाएको छ । यस वर्ष सडक कालोपत्रे, सभाहल निर्माण, ल्यान्डफिल साइट निर्माण, जग्गा एकीकरण सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ । 

डीपीआरको ढिलाइ, विभागमा कर्मचारीको सरुवा, कानुनी प्रक्रिया, सरकारले विगतमा जग्गाको कित्ताकाट रोक्न गरेको निर्णयलगायतका कारण नयाँ सहर आयोजनाको काममा ढिलाइ भइरहेको आयोजना कार्यालयले जनाएको छ ।