• २१ जेठ २०८१, सोमबार

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

blog

नेपालगञ्ज, भदौ ८ गते । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो ।

“उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ”, उहाँले भन्नुभयो । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् । मिटरब्याजीले थोरै पैसा लगानी गरेर रु १० लाखदेखि रु २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ ।

अधिकृत सोनकरका अनुसार मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी छ । उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको छ ।

मिटरब्याजीले निरक्षर तथा आर्थिकरूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।