• १२ असार २०८१, बुधबार

भूकम्पीय जोखिम न्यूनीकरणको पूर्व तयारी

blog

नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजारक्षेत्र सुर्खेत रोड । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौं ५ गते । बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको चुरे क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार एकाविहानै ४.८ म्याग्निच्यूटको भूकम्प गयो । भूकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको थियो । 

भूगर्भविद्का अनुसार नेपालगञ्ज क्षेत्रको भूबनोट कमजोर रहेका कारण भूकम्पीय हिसाबले उच्च जोखिममा  छ । सम्भावित भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्भेक्षण सुरु गरेको छ । 

“घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको वडा ३ र ७ लाई आधार मानेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि सर्भेक्षण भइरहेको छ” अध्ययनमा संलग्न युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले भन्नुभयो, ‘बस्तीमा रहेका साँघुरो घर, गल्ली, जीर्ण घर, अस्तव्यस्त तार, घरको नक्सा तथा भूकम्प जोखिमबारे घरमा पुगेर अध्ययन भइरहेको छ । 

यो अध्ययनबाट नगर क्षेत्रमा आवश्यक खुला क्षेत्रको अवस्था, आश्रयस्थल, स्वास्थ्य चौकीलगायतको विषयमा प्रष्ट जानकारी हुने र विपद् प्रतिकार्यमा सहयोगी हुने उहाँको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालयका प्राध्याक भूगर्भविद् दीपक चौलागाइँले बाँकेमा केन्द्रबिन्दु भएर ठूला भूकम्प आएको हालसम्म न्यून रहे पनि बाँके भूकम्पीय जोखिममा रहेको बताउनुभयो । मध्यपहाडीमा आउने भूकम्पले बाँकेमा ठूलो क्षति गर्न सक्ने उहाँको अनुमान छ । 

“भूकम्प कम आएको क्षेत्रमा ठूला भूकम्प आउनसक्ने जोखिम बढी हुन्छ” डा. चौलागाइँले भन्नुभयो, “भूकम्प जुनसुकै समयमा पनि जानसक्ने भएकाले यसबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय पूर्व तयारीमा अहिलेदेखि नै लाग्नुपर्छ ।”