• ६ साउन २०८१, आइतबार

अनुदान दिन थालेपछि दूध उत्पादन वृद्धि

blog

गणेश खनाल

अर्घाखाँची, भदौ ५ गते । भारतमा तीन वर्ष बसेर आउनुभएका अर्घाखाँचीको पाणिनि गाउँपालिका –४, पटौटीका ३० वर्षीय माधव घिमिरेलाई त्यसपछि कहिले विदेश जाने इच्छा भएन । उहाँ अहिले गाउँकै उदाहरणीय कृषक बन्नुभएको छ । गाई र भैँसीपालन गर्दै आउनुभएका घिमिरेले मासिक ४५ हजार रुपियाँको दूध बिक्री गर्दै आउनुभएको छ ।

“घरमा तीनवटा गाई र दुईवटा भैँसी छन्, कात्तिक, मङ्सिरमा धेरै दूध बिक्री हुन्छ । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ,” उहाँले भन्नुभयो । 

अन्य खेतसहित पशुपालन गरिरहनुभएका घिमिरेलाई गत वर्ष गाउँपालिकाले ४४ हजार ३६४ रुपियाँ अनुदान दिएको थियो । मासिक ४०–५० हजार रुपियाँ कमाउन गाह्रो नभएको उहाँले बताउनुभयो । 

माधव घिमिरे मात्रै होइन, अरू धेरै युवा पशुपालनमा आकर्षित भएका छन् । गाउँपालिकाले दूध उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान पशुपालनतर्फ आकर्षित भएका हुन् । “जसले धेरै दूध उत्पादन गरेर सहकारीमा र डेरीमा बिक्री गर्न ल्याउँछ, उसैले बढी अनुदान पाउँछ,” पाँचवटा गाई पालिरहनुभएका सोही ठाउँका ३८ वर्षीय नारायण अधिकारीले भन्नुभयो । 

पाणिनिको मैदान नेटामा रहेको डेरीमा मात्रै वार्षिक एक करोड रुपियाँको दूध बिक्री हुने गरेको दूध तथा उत्पादन सहकारीका अध्यक्ष देवीलाल न्यौपाने बताउनुभयो । १६० कृषक दुग्ध उत्पादक सहकारीमा सदस्य छन् । आव २०७५/७६ देखि दूधमा अनुदान दिन थालेको पाणिनि गाउँपालिकाले कृषकलाई नगद ९१ लाख रुपियाँ वितरण गरेको छ । उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेसाप्रति हौसला बढ्ने र थप उत्पादनमा वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो । 

गाउँपालिकाले दूधमा प्रतिलिटर पाँच रुपियाँका दरले अनुदान दिइरहेको छ । यसले गर्दा पाणिनि गाउँपालिका दूधमा आत्मनिर्भर बनेको छ । यो गाउँपालिकामा वार्षिक नौ लाख लिटर दूध उत्पादन हुने गरेको सहकारीका अध्यक्ष न्यौपानेले बताउनुभयो । पाणिनिमा उत्पादन भएको दूध पाणिनिमा नै खपत भएको छ । निगालीमा रहेको छुर्पी उद्योगमा पनि यहाँको दूध खपत हुने गरेको छ । यहाँ उत्पादन भएको छुर्पी पोखरा, काठमाडौँ तथा विदेशमा निर्यात हुँदै आएको छ ।