• ६ साउन २०८१, आइतबार

कपिलवस्तुमा बहुमूल्य अगरउडको खेती

blog

बाणगंगा नगरपालिकास्थित कोटिहवा सामुदायिक वनमा अगरउडको वृक्षारोपण गरिएको क्षेत्र । तस्बिर : जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, भाद्र ४ गते । कपिलवस्तुमा बहुमूल्य औषधीजन्य जडीबुटी तथा सुगन्धित तेल धूप उत्पादन गर्न मिल्ने अगरउडको खेती गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका -९ बर्दहवामा २.५ हेक्टर जमिनमा अगरउडका बिरुवा रोपिएको हो । 

वन तथा भुसंरक्षण मन्त्रालय बबरमहल काठमाडौंको सहयोगमा सामुदायिक वन क्षेत्रमा अगरउड वृक्षारोपण गरिएको छ । बर्दहवास्थित कोटिहवा सामुदायिक वनमा २२ सय अगरउडका बिरुवा लगाइएको सामुदायिक वनका कोषाध्यक्ष मिलन बुढा मगरले बताउनुभयो । 

अघिल्लो वर्षको असारमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण गरिएको क्षेत्रको माटो सुहाउँदो नभएका कारणले हुर्काउन गाह्रो भएको मगरको भनाइ छ । एक वर्ष सो बिरुवा २ देखि ४ फुट अग्ला भएको र मरेकामध्ये १९५ बिरुवा प्रतिस्थापन गरिएको मगरले बताउनुभयो । सो बिरुवालाई परीक्षणका लागि मन्त्रालयबाट निःशुल्क उपलब्ध भएको बताइएको छ ।

बिरुवा हुर्काउन तारबार गरी संरक्षण गरिएको छ । अगरउड अति सुगन्धित वासना आउने प्रजातिको विरुवा हो । यसलाई सौन्दर्य प्रशोधन, अत्तर उत्पादन, औषधीजन्य वस्तु उत्पादनका लागि कच्चा पदार्थको रुपमा प्रयोग गरिने गरेको मगरले बताउनुभयो । रुख हुर्किएको आठ वर्षपछि वैज्ञानिक तरिकाले काण्डमा प्वाल पारेर पाइपको प्रयोग गरी कृत्रिम ढुसी घुसाउने गरिन्छ । 

“कल्भिटेड अगरउड किट” नाम गरेको केमिकल काण्डभित्र राखेपछि संक्रमण भएर अगर बन्ने प्रक्रिया सुरु हुने डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदनमोहन स्याण्डिल्यले बताउनुभयो । 

अगरउडको माग जापान, सिंगापुर, अरबी देश, अमेरिकाजस्ता विकसित राष्ट्रमा हुनेगरेको   छ । अगरको गुणस्तर हेरेर प्रतिकेजी लाखौँ मुल्य पर्नेगरेको वन तथा प्राकृतिक स्रोतविज्ञ साधन व्यवस्थापन विज्ञ मथुरा खनालको भनाइ छ ।