• १३ साउन २०८१, आइतबार

हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न स्वीकृत

blog

सिमकोटस्थित शाखाको गोदाममा खाद्यन्न बिक्री हुँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौ ४ गते । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमीटेडले यस वर्ष हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ । लिमिटेडले यो खाद्यन्न सिमकोट शाखादेखि डिपो र बिक्री केन्द्रका लागि पठाउन लागेको हो । 

लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नबिन आचार्यले लिमिटेड केन्द्रले जिल्लामा खाद्यन्न बिक्री बितरणका लागि स्थापना भएका शाखा, डिपो र बिक्री केन्द्रका लागि पैदल र हवाई मार्ग गरी २३ हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको बताउनुुभयो । 

लिमिटेडले ढुवानीमा अनुदान दिने खाद्यन्न गतवर्षभन्दा बढी हो । उहाँले सिमकोट शाखाका लागि दश हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरेकोमा छ हजार सुर्खेत र चार हजार क्वीन्टल नेपालगञ्जदेखि हवाईमार्गबाट ढुवानी हुने बताउनुुभयो । 

त्यसैगरी शाखाकै लागि पैदल मार्गबाट सुर्खेत, नेपालगञ्ज, धनगढी र राजापुर गरी चार स्थानबाट एक–एक हजार गरी चार हजार क्वीन्टल खाद्यन्न ब्यवस्था गरेको छ । हवाई तथा पैदलमार्ग गरी शाखाका लागि १८ हजार क्वीन्टल खाद्यन्न आउनेछ । त्यसैगरी नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि सिमकोटबाट पाँच–पाँचसय क्वीन्टल खाद्यन्न कोटाको ब्यवस्था गरिएको छ । 

त्यसैगरी खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि पैदल मार्गबाट सुर्खेत र नेपालगञ्जबाट पाँच–पाँचसय गरी एक हजार क्वीन्टल खाद्यन्न ब्यवस्था गरिएको छ । अन्य बिक्री केन्द्रहरु चंखेली देउलीकालागि सुर्खेतबाट पाँचसय क्वीन्टल, सर्केगार्ड गाउँपालिकाको तुम्च बालुकुना बिक्री केन्द्रका लागि सुर्खेतबाट एक हजार र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि सुर्खेतबाटै एक हजार  क्वीन्टल कोटा खाद्यन्न ब्यवस्था गरिएको छ । 

त्यसैगरी डिपो अन्तर्गत सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोका लागि मुगुको गमगढी र सर्खेतबाट एक एक हजार गरी दुई हजार क्वीन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि सुर्खेतबाट एक हजार, धनगढीबाट एक हजार र बाजुराको कोल्टीबाट पाँचसय गरी दुई हजार पाँच सय क्वीन्टल खाद्यन्न ब्यवस्था गरिएको छ । उहाँले हवाई तथा पैदल मार्गबाट जिल्लाका लागि निर्धारित कोटाको खाद्यन्न ढुवानीका लागि लिमिटेड केन्द्रले आसयपत्र निकालेको छ ।