• १२ असार २०८१, बुधबार

विकासमा कोही बाधक नबनौं : मन्त्री राई

blog

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई शनिबार नेपालगञ्जको धम्बोझीमा सडकबत्ती तथा ट्राफिक लाईटको शिलान्यास गर्नुहुँदै । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, भदौं ४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले स्थानीय विकासमा कोही बाधक बन्न नहुने बताउनुभएको छ । नेपालगञ्जको धम्बोझी चोकमा शनिबार रत्न राजमार्ग अन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति र सडक बत्ती तथा जमुनाह– कोहलपुरमा पैदल यात्रु आकाशे पुलको शिलान्यास गर्दै मन्त्री राईले सो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासको विरोध गर्दै जातजाती, भाषाभाषी र सम्प्रदायको नाममा राजनीति गर्नेहरुविरुद्ध जनता सचेत भइसकेका छन् ।” मन्त्री राईले नेपालगञ्जमा भर्खरै शिलान्यास भइरहेका नयाँ योजनाहरु बजेट सनिश्चित भएपछि मात्रै टेण्डर प्रक्रियामा गएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य, समन्वय र सहयोगमा मन्त्रालयले पछिल्ला विकास निर्माणका योजना अघि बढाएको मन्त्री राइले बताउनुभयो ।  

नेपालगञ्ज चिनाउने ब्यक्तिहरु फत्तेजंग शाह, मंगलप्रसाद, अवतारदई चौधराईनको पहिचान जरुरी भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालगञ्जमा शिलान्यास भएका योजनाको निर्माण कार्य पूरा हुने बताउनुभयो ।  

शिलान्यास भएका बाहेक थप योजनाका लागि समेत काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । सचिव सिग्देलले रत्न राजमार्गको स्तरोन्नति, पूर्ब–पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्ड फोर लेन र ५ लेनको बनाउन अध्ययन भइरहेको बताउनुभयो । जमुनाह–हिल्सा सडक समेत निर्माण गर्नुपर्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो । 

सडक विभागका महा निर्देशक अर्जुनजंग थापाले नेपालगञ्ज र कोहलपुरमा ५ वटा आकाशे पुल, सडकबत्ती, ट्राफिक लाईट र अस्फाल्ट सडकको काम एक वर्षभित्रै सम्पन्न हुने जानकारी दिनुभयो । 

नेपालगञ्जको जमुनाहदेखि राँझासम्म अस्फाल्ट ओभरले, सडक बत्ति, ट्राफिक लाईट, नेपालगञ्जमा चार वटा र कोहलपुरमा एउटा गरी ५ वटा आकाशे पुलको काम एकसाथ अघि बढाइएको छ । यसैगरी मन्त्री राईले शनिबार नै डुडुवास्थित राप्ती नदी पुल र डुडुवा खोला पुलको शिलान्यास गर्नुभयो ।