• २८ वैशाख २०८१, शुक्रबार

हाम्रा सम्पदा

पाण्डवकालीन विष्णु मन्दिर साकेत धाम

blog

महेन्द्रनगर, भदौ ४ गते । यो कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं ३ को तिलकपुरमा अवस्थित विष्णु मन्दिर वा साकेत धाम हो । यस साकेत धाममा पाण्डवकालीन विष्णु भगवानको प्राचीन मूर्ति छ ।

विष्णु मन्दिरको गर्भगृहमा रहेको प्राचीन कालो चिल्लो शिलाको चारकुने आकारमा शेषनागको शय्यामा शयन भएको छ । मूर्तिको नाभी कमलमाथिको फूलमा चतुर्मुखी ब्रम्हाले हातमा पुस्तक लिएको देखिन्छ । यो मूर्ति यस क्षेत्रकै प्राचीन मूर्ति हो ।


चुरे पर्वतको नजिक रहेको र त्यही चुरे पर्वतमा परापूर्व कालमा ऋषिमुनीहरुले तपस्या गर्ने भएकाले यस स्थललाई ऐतिहासिक एवं धार्मिक स्थलको रुपमा पनि मानिन्छ । पाण्डवहरु उत्तरापन्थ जाँदा बाटोमा देवताका मूर्तिहरु स्थापना गरी पूजा गर्दै गएको क्रममा यो विष्णु भगवानको मूर्तिलाई त्यहाँ स्थापना गरिएको भन्ने पनि जनविश्वास छ ।

नजिकको चुरे पर्वतमा तपस्या गर्ने र परापूर्वकालमा त्यहाँ ऋषिमुनिहरु बस्ने स्थल रहेको, मठ, मन्दिर पनि रहेको थियो । जुन अहिले भग्नावशेषको रुपमा छ । तिलकपुर गाउँकी १२ वर्षीय गोमती एैरेले गाई चराउन जाँदा घरका लागि मसला पिस्न भनी खोलामा सिलौटो खोज्ने क्रममा २०४८ साल साउन ३१ गते यही चारपाटे भगवान विष्णुको द्वितीय मूर्ति फेला पारेकी थिइन् ।


बैतडीका बाबा रामदाशजी भगवानको नित्य पूजा गर्ने अठोट लिई श्रद्धालु भक्तजन र स्थानीयवासीको आर्थिक सहयोगमा यस स्थलमा मन्दिर तथा यज्ञशाला निर्माण कार्य शुरु भयो तर विविध कारणले निर्माण कार्य स्थगित भएको पाइन्छ ।


विष्णु मन्दिर पश्चिमधाम परापूर्वकालदेखि स्थापित सिध्द विनायक स्थलमा यज्ञशालाको निर्माण गरी सत्सङ्ग गर्न २०४६ सालतिर स्थानीय भक्तजनहरुले विशेषतः त्यहाँका गोरा बिष्टहरुको सक्रियतामा यज्ञशालाको निर्माणकार्य थालनी भयो । यस स्थललाई साकेत धाम र यज्ञशाला बनाउन २०५९ सालमा रामदासजी महाराजको संयोजकत्वमा जीर्ण यज्ञशाला र मन्दिरको पुनःनिर्माण कार्य यस साकेत धाम समितिले अगाडि बढायो । धामको पूर्वमा तुम्बरी वा पुमई खोला र पश्चिममा खन्ने खोला बगेको छ। चुरे पर्वतको फेदीमा रहेको यस धामको वरिपरि जङ्गल र मन्दिरको दायाँ र बायाँ ठूला दुईवटा पोखरी रहेका छन् । यही खोलामा तुम्बरी ऋषिले तपस्या गरेका थिए । मन्दिरको वरिपरि रहेको चुरे पर्वत र जङ्गललाई नै धार्मिक स्थल मानिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थल धार्मिक एवम् पर्यटकीय स्थल पनि हो ।


यस मन्दिर निकै नै सफा सुग्घर र आकर्षक रहेको छ । योगी नरहरिनाथले ९४ कोटी होम यहाँ भव्यताका साथ गरेका थिए । त्यसबेला भारतबाट हज्जारौं संख्यामा भक्तजनको आगमन भएको थियो । यस मन्दिरमा नेपालीहरुको हरिशयनी एकादशी, हरिबोधनी एकादशी र रामनवमी पर्वमा विशेष पूजा अर्चना गर्नुको साथै मूर्तिको डोलासमेत निकालेर जात्रा समेत मनाइन्छ । उक्त दिन भक्तजनहरुको अत्यधिक भीड हुने गर्दछ ।


प्राचीन विष्णु भगवानको नित्य पूजा बाबा रामदासजीले गर्नुहुन्छ । यहाँ पूजा अर्चना गर्नाले हराएको मान्छे फेला पर्ने जनविश्वास छ । सुख्खा मौसममा खोलामा पानी नहुने भएकाले सवारी साधन साकेत धाम नजिक नै पुग्दछ भने बषार्तको मौसममा खोलामा रहेको झोलुगें पुलबाट हिँडेर जानुपर्दछ । यस धाम परिसरमा अन्य विभिन्न देवदेवताका मूर्ति धेरै नै देख्न सकिन्छ ।