• ७ वैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सरकार वर्ष दिनमा बाउन्न उपलब्धि

blog

श्यामशङ्कर पाण्डे/छविलाल पाण्डे

बुटवल, साउन ३० गते । लामो राजनीतिक उतारचढावबीच तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको बहिगर्मनपछि बनेको वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले एक वर्षमा ५२ वटा महत्त्वपूर्ण  उपलब्धि हासिल गरेको दाबी गरेको छ । 

२०७८ साउन २८ गते लुम्बिनी प्रदेश सरकार परिवर्तन भएको थियो । त्यसलगत्तै असोज २० मा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट कार्यान्वयनमा ल्याउनुु, आर्थिक वर्ष  २०७८/७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर र राष्ट्रिय कुल गार्हस्थ्यमा १४.१ प्रतिशत योगदान रहनुुलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । 

त्यस्तै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई कार्यान्वयनमा ल्याउनुु, राप्‍ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि, लुम्बिनी प्राविधिक विश्‍वविद्यालय स्थापना र रामपुर, पाल्पादेखि पातीहाल्ना, रोल्पा सडक आयोजना घोषणालाई पनि प्रदेश सरकारको मुख्य उपलब्धि र सफलतामा राखिएको छ । 

आइतबार एक वर्षे उपलब्धि सार्वजनिक गर्दै प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले यो एक वर्षको अवधिमा प्रदेश सरकार जनताले अनुभूत गर्ने गरी अघि बढेको र विकास निर्माणका काम प्रभावकारी ढङ्गले गर्न सकेको बताउनुभयो । प्रदेश सरकारले एक वर्षको अवधिमा २२३ किमि सडक कालोपत्रे, २६५ किमि ग्राभेल र १२१ किमि नयाँ ट्र्याक खोलेको उहाँले भन्नुभयो ।

त्यसैगरी प्रदेश स्थापनापश्‍चात् हालसम्म ७२ वटा सडक–पुल निर्माण भएकोमा ४० वटा यसै वर्ष सम्पन्‍न भएका छन् भने २३ वटा झोलुङ्‍गे पुलमध्ये ११ वटा यस वर्ष सम्पन्‍न भएको मन्त्री शर्माले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख छ । उहाँले दाङको भालुवाङ क्षेत्रमा प्रदेश राजधानी निर्माणका लागि गुरुयोजना तयार भई कार्यान्वयनमा आएको र राजधानी व्यवस्थापनका लागि ल्यान्ड पुलिङको काम अघि बढेको बताउनुभयो । 

त्यसैगरी प्रदेश राजधानी दाङको राप्ती उपत्यकाको लालमटियामा प्रदेश सभा भवन निर्माण सम्पन्न भएको, राप्ती प्राविधिक शिक्षालय स्थानान्तरणको काम सुरु भइसकेको पनि मन्त्री शर्माले भन्नुभयो । उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारको पुँजीगत खर्च ७७ दशमलव ४७ प्रतिशत र चालू खर्च ७० दशमलव २२ प्रतिशत गरी कुल ७४ दशमलव २० प्रतिशत खर्च गर्न सफल भएको स्पष्ट पार्नुभयो । जटिल प्रकृतिका अर्थात् मुटु, मिर्गौला र क्यान्सर रोगको उपचारार्थ विपन्‍न नागरिकलाई सहयोग गर्न दुई लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रमअन्तर्गत कार्यविधि तर्जुमा गरी २७६ जनाले सहायता प्राप्‍त गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । 

प्रदेशवासीका गुनासोलाई समयमै सम्बोधन गरी शासकीय व्यवस्थामा सुधार ल्याउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो मुख्यमन्त्री’ प्रभावकारी भएको सरकारको सफलताका रूपमा उल्लेख गरिएको छ । 

त्यसैगरी प्रदेश सरकारको  सहयोगमा २३ स्थानीय तहको आवधिक योजना, ४४ स्थानीय तहको क्षमता विकास योजना र ३९ स्थानीय तहको राजस्व सुधार कार्य योजना सम्बन्धित स्थानीय तहको सहभागितामा तयार गरिएको, स्थानीय तहका ७६० जना जनप्रतिनिधि र दुई हजार ३०४ जना कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गरिएको पनि प्रदेश सरकारको प्रगतिका रूपमा व्याख्या गरिएको छ । 

प्रत्येक जिल्लामा एक/एकवटा सांस्कृतिक ग्राम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई यस वर्ष निर्माण थालनी गरिने, नेपालमा नै पहिलो पटक कपिलवस्तुको जगदीशपुर ताललाई चरा संरक्षित क्षेत्र घोषणा गरिएको र लुम्बिनी प्रदेश बैङ्क स्थापना गर्न प्राविधिक कार्य पूरा गरिएको पनि उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।