• ६ वैशाख २०८१, बिहिबार

सोनिया गान्धी फेरि सङ्क्रमित

blog

नयाँ दिल्ली, साउन २८ गते  । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित हुनुभएको छ । 

उहाँ कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको हो । उहाँ यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । 

उहाँमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उहाँलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ ।

नेत्री गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिनुभयो ।

उहाँलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उहाँकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी हुनुभएको छ । उहाँ सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ ।  रासस/एएनआई