• ६ वैशाख २०८१, बिहिबार

संस्कृति धान्दै छन् युवा

blog

दिवाकर पोख्रेल

देउखुरी, साउन २८ गते । दाङको लमही नगरपालिका–५ निवासी प्रेम कालाथोकी शुक्रबार बिहानै नदीमा पुगेर अग्रजको सिको गर्दै नुहाउन थाल्नुभयो । अघिपछिका नुहाइ र शुक्रबारको नुहाउने प्रक्रिया नै फरक । “जनैपूर्णिमाको नुहाउने प्रक्रिया नै फरक हुँदो रहेछ, नुहाउँदा साबुन स्याम्पुभन्दा जौ, तिल, खरानी, दुबो, पाती, गोबर लगाउनुपर्ने मन्त्र वाचन गर्ने अग्रजले जसो गर्नुहुन्छ, त्यही गर्दै नुहाइयो,” प्रेमले भन्नुभयो । परम्परा र संस्कृति लोप हुने अवस्थामा गइरहेका बेला केही वर्षयता युवापुस्ताले पनि परस्परा, संस्कृति र अध्यात्मतर्फ चासो बढाउन थालेका छन् । पुराना पुस्ताको सिको गर्दै नयाँ पुस्ताले संस्कृति धान्न थालेकोप्रति अग्रज पनि खुसी देखिन्छन् । 

संस्कृतिप्रेमी शशिधर ज्ञवालीले युवापुस्तालाई सँगसँगै लिएर जाँदा पुस्तान्तरण हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यही रक्षाबन्धनलाई परसंस्कृतिसँग जोडेर युवाले जनै, डोरोलाई बिर्सने हुन् कि भन्ने चिन्ता केही वर्षयता युवाको लगावले कम गरेको छ, यो सकारात्मक पक्ष पनि हो ।” युवापुस्ताले बिस्तारै अग्रजको देखासिकी र अनुशरण गर्न थालेपछि बालबालिकाले समेत थप रौनक थप्न थालेका छन् । प्रत्येक चाडबाडलाई बालबालिकाले थप ओझिलो बनाएको शिक्षक मधु न्यौपानेले बताउनुभयो । “छोरोले बिहानै उठेर डोरी (रक्षाबन्धन) चाहियो भन्न थाल्यो, यो पनि उनीहरूको संस्कृतिप्रतिको प्रेम र रमाइलो हो ।” 

आफ्नो संस्कृतिको अनुशरण गर्न पाउँदा युवापुस्ता पनि खुसी छन् । केही युवा त आयातित, परसंस्कृतिको सट्टा आफ्नो संस्कृतिको रक्षा गर्न लागिपरेका छन् । लमहीका सुरज शर्माले युवापुस्तालाई आफ्नो संस्कृति पछ्याउन आग्रह गर्दै यसले पहिचान कायम राख्न सहयोग पुग्ने बताउनुभयो । लमही नगरपालिका–६, देउपुरका पुरोहित रामप्रसाद घिमिरेले पहिले वास्ता नगर्ने युवा जनै पुज्न र डोरो लगाउनतर्फ ध्यान दिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृति पुस्तान्तरण हुन आवश्यक छ । हामीले नयाँ पुस्तालाई सिकाउँदै महत्त्व जानकारी गराउनुपर्छ ।” 

जनैपूर्णिमाका दिन पुरोहितले जनै लगाइदिने, डोरो (तागो) बाँधिदिने, त्यसको सट्टामा दान दिने प्रचलन छ । यसका साथै ज्वाइँ, भान्जाभान्जीले डोरो बाँधिदिने प्रचलन छ । यस्तै गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । लमही नगरपालिका लमही निवासी पुरोहित प्रेमनारायण पोखरेलले जनै डोरोको महŒवबारे जानकारी दिँदै जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवं गायत्रीमाताको बास हुने भएकाले धारण गरेपछि सधैँ सत्यनिष्ठामा मनोविज्ञान उँचो रहने दाबी गर्नुभयो ।