• ८ वैशाख २०८१, शनिबार

खेती बगरमा परिणत भएपछि सेलाघाटवासी चिन्तित्

blog

सहायक प्रजिअ लोकेन्द्रबहादुर विष्ट बाढीपहिरोबाट क्षति भएको बडिमालिका–९ सेलाघाट बस्तीको अनुगमन गर्दै ।

शेरबहादुर सार्की
बाजुरा, साउन २७ गते ।
बाजुराको बडिमालिका नगरपालिका –९ सेलाघाटमा धान रोपेको जमिन बगरमा परिणत भएपछि सेलाघाटवासी चिन्तित् बनेका छन् । साउन २१ गते राति बिउरा खोलामा आएको बाढीले गत असारमा रोपेको धान खेती सबै बगरमा परिणत गरिदिएपछि सेलाघाटवासीलाई हिउँदामा के खाने भन्ने चिन्ता परेको छ ।

बडिमालिका नगरपालिका –९ का स्थानीय गोपाल थापाले असारमा मेरिमेटी लगाएको धान खेती बाढीले बगरमा परिणत गरिदिएपछि अब हिउँदमा घरपरिवारले के खाएर गुजारा गर्ने भन्ने चिन्ता परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो भन्दा पहिला यसै ठाउँमा रोपेको धान खेतीले हिउँद महिनामा परिवार पाल्न सहज भएको थियो । असारमा रोपेको धानबाली र घर बाढीले बगर बनाइदिएपछि अब गाँस र बासको चिन्तमा रात काट्न बाध्य भएका छौं ।’’

बसोवास गर्ने बस्ती नै बाढीपहिरोको पूर्णजोखिम भएपछि अहिले त्रिपालको बास बस्न बाध्य भएका छन्, सेलाघाटवासी । सेलाघाटवासी चन्द्रे थापा, अङ्ग थापा, दिपक विष्टलगायतको घर बाढीपहिरोको निकै जोखिम पारेका  छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साउन १९ गते राति बिउरा खोलामा आएको बाढीले, बडिमालिका नगरपालिका–९ सोलाघाटवस्तीका तीस जनाको १२९ बोरी बराबरको धान फल्ने खेतवारी, कुखुरा, हाँस र खुद्रा पसलमा ठूलो क्षति भएको थियो ।

बस्तीमा बाढीपहिरोले गरेको  क्षतिको अवस्था तथा प्रहरीको रिपोर्ट अनुसार राहत दिने प्रक्रिया भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले धानबाली क्षतिका लागि कृषि ज्ञान केन्द्रमा पशुचौपायाको क्षतिका लागि भेटेनरीलाई राहतका लागि चिठ्ठी पठाएको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयले सेलाघाट बस्तीका स्थानीयहरुको बाढिपहिरोले गरेको वास्तविक क्षति तथा प्रहरीको मुचुल्का अनुसार रातह वितरण गर्ने बताउनुभयो ।