• ५ साउन २०८१, शनिबार

बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा

blog

जिल्लाको दुर्गम र पिछडिएको नरैनापुर गाउँपालिका क्षेत्र । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, साउन २७ गते ।
लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान राेपाइँलगायत पानीको अभावमा अन्य खेतीबारी  हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ । पानीको अभावमा खडेरी परेको ठहर गर्दै गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको हो ।

सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान राेपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको बताउनुभयो ।

उहाँले केही किसानले वैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भइसकेको हुँदा किसान अतिनै समस्यामा परेको बताउनुभयो ।

चर्को गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको अभाव हुँदा सो पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताउनुभयो ।

उहाँले सयौं किसानले पालिकामा आएर आफ्नो गुनासो सुनाउँदै यसपटक रोपाइँ हुनै नसकेको हुँदा के खाने भन्ने चिन्ताले सताएको जनाएपछि सुख्खा क्षेत्र घोषणा गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । 

सो क्षेत्रमा सिंचाइको लागि व्यापक डिप बोरींग लगायत अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न अधिकांश किसानले माग गरेका छन् ।

सुख्खा क्षेत्र घोषणा भइसकेकोले किसानहरुका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाँउपालिकाले माग गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सङ्घीय सरकारको तत्काल ध्यान पुग्न आवश्यक रहेको अध्यक्ष शाहले बताउनुभयो ।

यसैगरी, कृषि ज्ञान केन्द्र नेपालगञ्जले नरैनापुरमा ३५ प्रतिशत जति रोपाइँ भएको तथ्याङ्क आएको जनाउँदै लामो समयदेखि पानी नपर्दा सोमध्ये पनि अधिकांश सुकेर नष्ट भएको हुनसक्ने जनाएको छ ।

गाउँ कार्यपालिकाको सोही बैठकले सुख्खा क्षेत्र घोषणा गरिएकोमा ८० प्रतिशत करमा छुट दिने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य जारी रहेको र केही वर्षभित्रै पालिकामा सिक्टाको पानी पुग्ने आशा गरिएको छ ।