• १९ वैशाख २०८१, बुधबार

बाँकेमा ८३ जना सक्रिय संक्रमित, दैनिक सङ्क्रमित बढ्दै

blog

भेरी अस्पतालमा कोरोना परीक्षण गर्न व्यस्त स्वास्थ्यकर्मी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २६ गते । पछिल्लो समय बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय सङ्क्रिमतको सङ्ख्या पुगेको छ । केही दिन यता दैनिक सङ्क्रमित फेला पर्ने क्रम बढ्दैगएको छ । 

जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार केही समयअघि सक्रिय सङ्क्रमित संख्या शून्यमा झरेको थियो । बाँकेमा हाल ८३ जना सक्रिय सङ्क्रमित पुगेको र उहाँहरु सबै होम आइसोलेसनमा रहेर उपचार गराइरहनुभएको जिल्ला कोभिड व्यवस् बाँकेका कोरोेना फोकल पर्सन तेज वलीले बताउनुभयो । 

हाल दैनिक २० जनाभन्दा बढी संक्रमित थपिनेक्रम रहेको जनाउँदै परीक्षण गराउनेमध्ये अधिकांशलाई संक्रमण पुष्टि हुनेगरेको उहाँले बताउनुभयो । सो क्रममा बिहीबार मात्र बाँकेमा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पतालमा परीक्षण गराएका २३ जनामध्ये १६ जनामा र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४ र राप्तीसोनारी गाउँपालिकामा १ गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको कोरोना फोकल पर्सन वलीले बताउनुभयो । 

सोही प्रकार हिजो बुधवार पनि १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत मङ्गलवार २१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमितको सङ्ख्या २१ हजार २५९ पुगेको छ । जसमध्ये २० हजार ८२३ जना निको भैसकेका छन् । 

पछिल्लो समय सङ्क्रमित सङ्ख्यामा वृद्धि भएपछि स्वास्थ्य मापदण्डको पालना गर्न र सीमा नाकामा कडाइ गर्न निर्देशन जारी गरिएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । 

समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले फेरि सङ्क्रमित बढ्न थालेपछि स्वास्थ्य मापदण्डको पालनासहित कोभिडविरुद्धको खोप बढीभन्दा बढीलाई लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।