• ७ वैशाख २०८१, शुक्रबार

लाप्चा गेउ खोलामा बन्यो गाडी गुड्ने काठेपुल

blog

हुम्ला, साउन २३ गते । पर्यटकीय स्थल लाप्चा क्षेत्र जाने गेउ खोलामा गाडी गुड्ने काठे पुल निर्माण भएको छ । यसअघि सडक निर्माण भएपनि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो । काठेपुल बनेपछि यातायात सञ्चालनमा सहज भएको छ । 

नाम्खा गाउँपालिका–६ मा पर्ने मानसरोवर कैलाशको दर्शन गर्ने स्थान लाप्चा क्षेत्र जाने गेउ खोलामा काठे पुल निर्माण भएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । उहाँले पुन निर्माण नहुँदा बर्खामा पानी मै गाडीहरुले खोला तर्नु पर्ने बाध्यता रहँदै आएकोमा अब भने त्यो समस्या हटेको बताउनुभयो । 

यसअघि पैदल यात्रुले पनि खोला तर्नु पर्ने बाध्यता रहेको थियो । लिमीका स्थानीयको मागलाई मध्यनजर यातायात सञ्चालन गर्न काठे पुल भएपनि निर्माण भएको हो । खोलाको दायाँ बायाँ पन्द्र मिटर ढुङ्गाको गारो लगाईएको छ भने छ मिटर काठ राखेर पुल निर्माण गरि गाडी सञ्चालन हुन थालेका छन् । 

यसबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरुलाई यात्रा गर्न पनि ढुक्क भएको छ । उहाँले काठेपुल निर्माणले दिर्घकालीन समस्या समाधान नभएपनि अस्थायी रुपमा यातायात सुचार गर्न सहज भएको बताउनुभयो । यसबाट पर्यटक प्रबद्र्धनमा सहयोग पुग्ने बिस्वास गरिएको हो । सो पुलबाट साना बोलेरो जीप देखि टिप्पर समेत तर्न सक्ने भएको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।