• ५ साउन २०८१, शनिबार

पहिरोले घर र स्वास्थ्य चौकीमा क्षति, खानेपानी अवरुद्ध

blog

सानीभेरीमा बढेको पानीको बहाव । तस्बिरहरु : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन २२ गते । रुकुम पश्चिममा निरन्तरको वर्षाको कारण आएको पहिरोले विभिन्न संरचनामा क्षति पुगेको छ । पहिरोले घर, स्वास्थ्य चौकीमा क्षति पुगेको छ भने पानी घट्ट र खानेपानी अवरुद्ध भएको छ । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले पहिरोको कारण गाउँपालिकाको ३ नम्वर वडाका खड्कबहादुर विकको घर पूर्णरुपमा क्षति भएको बताउनुभयो । उहाँका अनुसार, पहिरोको कारण घरमा रहेका सम्पूर्ण सामग्रीमा पनि पूर्ण क्षति भएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय क्षति भने हुन नपाएको बिष्टले बताउनुभयो । 

त्यसैगरी, वर्षाकै कारण आएको पहिराले गर्दा त्रिवेणी गाउँपालिका २, को आधारभूत स्वास्थ्य एकाइमा पनि क्षति पुगेको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीय नवीन दाहालले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले थप क्षतिको सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो । 

वर्षाकै कारण मुसीकोट नगरपालिका ९ हिल गाउँका तीनवटा पानी घट्ट बगाएको र खानेपानी अवरुद्ध भएको छ । वडा अध्यक्ष शशिराम पुनले हालै मात्र सञ्चालनमा आएका स्थानीयका तीन वटा घट्ट पिसानसहित बाढीले बगाएको बताउनुभयो ।

मुसीकोट नगरपालिका ९ मा खोला पसेर क्षति गरेको खानेपानीको इन्टेक र पाइप । 

स्थानीय स्यालाखोलामा आएको बाढीको कारण सिँचाइ, खानेपानीको इन्टेक र पाइप बगाएको छ । वडाध्यक्ष पुनले वडाको हिल, माथिल्लो र तल्लो अदुवाबारी गाउँमा खानेपानी पूर्णरुपमा बन्द भएको बताउनुभयो । खानेपानी बन्द भएपछि स्थानीयले वैकल्पिक खानेपानीका स्रोतबाट जोहो गरिरहेका छन् । 

निरन्तरको वर्षाका कारण सानीभेरी नदीको बहाव पनि बढेको छ । सानीभेरी गाउँपालिकाले नदीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी र खोलानालाको सतह धेरै माथि आएकाले सतर्क रहन स्थानीयलाई आग्रह गर्नुभएको छ । 

पहिरोले सडक अवरुद्ध

निरन्तरको वर्षापछि आएको पहिरोले जिल्लाको विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकामा रहेको सिम्रुतु–रूघा–कालापोखरी सडक एक हप्तादेखि अवरुद्ध रहेको स्थानीय दलबहादुर पुनले बताउनुभयो । उहाँले पहिरोको कारण त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ र २ का साथै रोल्पा र रुकुमपूर्वको चुन्वाङ जाने सर्वसाधारणलाई मर्का परेको जानकारी दिनुभयो । 

आठबीसकोट नगरपालिका ८ र ९ मा पर्ने पेदिखोला नजिकै आएको पहिरोले पनि सडक अवरुद्ध भएको छ । पाँचसय मिटर माथिबाट खसेको पहिरोका कारण भौरित बुगेरी सडक अवरुद्ध भएको स्थानीयले जनाएका छन् । पहिराले मकैबारी र खानेपानीको पाइप बगाएको छ । ठुलो पहिरोको कारण वडा नम्बर ९ स्थित कालिका माविमा अध्ययन गर्न जाने विद्यार्थीलाई पनि समस्या भएको छ ।