• ७ वैशाख २०८१, शुक्रबार

सुविधा सम्पन्न बसपार्क सञ्चालनबारे अन्योल

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन २२ गते । सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भए पनि सञ्चालनबारे भने अन्योल देखिएको छ। 

सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत झण्डै छ करोड रुपियाँको लागतमा निर्माण भएको बसपार्क प्रयोगविहीन बनेको हो। बसपार्क निर्माण भएको पाँच महिना बढी भइसकेको छ। टर्मिनल भवनसहित सुविधा सम्पन्न बसपार्क सञ्चालनमा ल्याउन नगरपालिका कार्यालयले चासो देखाएको छैन। मलङ्गवा नगरपालिका–२ मा निर्माण भएको सुविधा सम्पन्न बसपार्क प्रयोग नगरी बस व्यवसायीले हाल मलङ्गवा नगरपालिका–९ स्थित साँघुरो र अत्यन्त दुर्गन्धित रहेको पुरानो बसपार्कमै बस पार्किङ गर्दै आइरहेका छन्। 

नयाँ बसपार्क बने पनि बस व्यवसायी भने त्यस ठाउँमा लगेर बस पार्किङ गर्न तयार छैनन्। नयाँ बसपार्क बजारभन्दा निकै दक्षिण रहेको र आफूहरू त्यहाँ जाँदा साना गाडीले पुरानो बसपार्क अगाडिबाटै यात्रुहरू उठाएर लैजाने बस व्यवसायीको चिन्ता छ। सर्लाही बस व्यवसायी सङ्घका कार्यबाहक अध्यक्ष धीरेन्द्र साहले नयाँ बसपार्कको निर्माण कार्य पूरा भएकोबारे कसैले पनि जानकारी नगराएको बताउनुभयो। आफूहरूले नयाँ स्थानमा गएर बस राख्दा साना सवारीले सबै यात्रु उठाउने र बसले यात्रु नै नपाउने अवस्था आउने साहको भनाइ छ। 

“नयाँ बसपार्क प्रयोग गर्नुस् भनेर हामीलाई नगरपालिकाले औपचारिक रूपमा भनेको पनि छैन, नगरपालिकाले भनेपछि तल (नयाँ बसपार्क) जाने वा नजाने भन्ने निर्णय हामी बस व्यवसायी बसेर गछौँ,” साहले भन्नुभयो, “जानै पर्दा पुरानो बसपार्कमा बस चढ्न आउने यात्रु साना गाडीले उठाइदिनु भएन, त्यसो भयो भने मात्रै हामी नयाँ बसपार्कमा बस लगेर राख्न तयार छौँ।” 

मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बसपार्क निर्माण गर्ने ठेकेदारले आफूहरूलाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको बताउनुभयो। बसपार्क हस्तान्तरण भएर सञ्चालनमा आएपछि कुनै पनि बस व्यवसायीले राज्यको रकम खर्च गरेर बनाइएको बसपार्कमा बस लान्नौँ भन्न नपाउने बताउनुभएको छ। 

बस व्यवसायीलाई सहमतिमा ल्याउन नसक्दा छ करोड रुपियाँ खर्चेर बनाइएको बसपार्क अलपत्र परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बसपार्क सञ्चालनका विषयमा चाँडै नै बस व्यवसायीसँग छलफल गर्ने बताउनुभएको छ। 

“बसपार्क बन्दा सबै खुसी हुनुपर्ने हो, यसमा बस व्यवसायीहरू दुःखी हुनुपर्ने कारण नै छैन, यस विषयमा हामी उहाँहरूसँग चाँडै नै छलफलमा बसेर निर्णयमा पुग्छौँ,” नगरप्रमुख यादवले भन्नुभयो, “ठेकेदारले हस्तान्तरण नगरेका कारण पनि बसपार्क सञ्चालनमा केही ढिलाइ भएको हो, अब चाँडै नै यसको निकास निस्कन्छ।”