• १३ वैशाख २०८१, बिहिबार

हाम्रा सम्पदा

नेपालकै आकर्षक र चर्चित पुल

blog

कैलाली, साउन २१ गते । कैलाली जिल्लाको चिसापानी कर्णाली नदीमा निर्माण गरिएको केबुल स्टेड पुल निकै आकर्षक र चर्चित छ ।

अमेरिका, जापान र नेपालबीचको अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण गरिएको एसिमेट्रिक, सिङ्गल टावर, केबुल स्टेड ब्रिज हो । यो नेपालको पहिलो र एक मात्र केबुल स्टेड पुल हो । यो सुन्दर पुल पश्चिम नेपालको कैलाली जिल्ला र बर्दिया जिल्लाको बीच अर्थात् कर्णाली नदीमा बनाइएको छ ।


यस पुलको डिजाइन अमेरिकाका स्टेनम्यान, वोयन्टन, ग्रोन्किस्ट र बर्डसलले गरेका थिए । जापानको प्रख्यात कावासाकी हेभी इण्डट्रिजद्वारा निर्माण कार्य गरिएको थियो । यो पुल काठमाडाैँबाट ५०० किलोमिटरको दूरीमा छ । यस पुलको लम्बाइ ५०० मिटर छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाएको छ । यस पुलको उदघाटन २०५० मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट भएको थियो । कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी हो । तर पछिल्लो समय यो कर्णाली पुल जीर्ण बन्दै गएको छ । 


अहिले यो पुल स्वदेशी पर्यटकहरुका लागि निकै नै आकर्षक बन्नुको साथै यस पुल भएर यात्रा गर्ने जो कोही पनि यहाँ ओर्लेर, तस्बिर खिच्ने, टिकटक बनाउने, सेल्फी खिच्ने, भिडियो खिचेर रमाउने गर्दछन् । साथै छिमेकी राष्ट्र भारतबाट आउने पर्यटक र अन्य मुलुकका पर्यटक पनि यस पुलमा रमाउने गर्दछन् । यस पुलले गर्दा प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको चिसापानीको पनि महत्व झन बढेको छ ।