• ५ साउन २०८१, शनिबार

‘निर्वाचन मिति घोषणा संविधान र कानुन अनुसार’

blog

काठमाडौं, साउन १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने कुरा संविधान, कानुन अनुसार नै भएको बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आफ्नो दलसँग परामर्श नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीकरण दिनुभएको हो ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ पाँच दलको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले निर्वाचन आयोगको परामर्श अनुसार सरकारले सो निर्वाचनको मिति घोषणा गरेको पनि पटक–पटक दोहोर्‍याउनु भयो ।

मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने कुरा अपेक्षित रहेको उल्लेख गर्नुहुँदै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नैपर्ने भन्ने कुरामा सत्यता  नरहेको दाबी गर्नुभयो ।

मन्त्री कार्कीले निर्वाचनको मिति घोषणा गर्नका लागि क्याबिनेट बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग फोन संवाद गर्न खोजेको तर सम्पर्क नभएको पनि जानकारी दिनुभयो ।

‘‘प्रतिपक्षसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने भन्ने कुरामा सत्यता छैन । यो चाहिँ हाम्रो जुन अभ्यास छ, कानुन, संविधान अनुसार नै भएको छ ।,’’ मन्त्री कार्कीले भन्नुभयो,  ‘‘प्रधानमन्त्रीले क्याबिनेट सुरु हुनु अघि प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्न कोसिस गर्नुभएको थियो । तर, फोन संवाद हुन सकेन । त्यसपछि निर्णय भयो । मङ्सिर ४ गते निर्वाचन हुने कुरा अपेक्षित हो ।’’

मन्त्री कार्कीले सत्तारुढ दलहरुबीचको चुनावी तालमेललाई अघि बढाउनका लागि आवश्यकता अनुसार छलफल गर्दै अघि बढ्ने सहमति भएको बताउनुभयो ।