• ५ साउन २०८१, शनिबार

कोसी करिडोर प्रसारण लाइनसहित २२० केभी भोल्टका तीनवटा सबस्टेसन सञ्चालन

blog

काठमाडौं, साउन २० गते । नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (के.भि.) का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सवस्टेसनमा बिहीबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् ।

साथै कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ १०५ किलोमिटर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताउनुभयो । २२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

‘मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहबी सवस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहबी सबस्टेसनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकोले उद्योगहरुलाई थप विद्युत् दिन सकिन्छ । साथै, भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ’,  घिसिङले भन्नुभयो, ‘सङ्खुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत आयोजनाहरुका विद्युतगृह पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुने छ, कोसी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेसनमार्फत भारततर्फ समेत निर्यात गर्न सकिनेछ ।’

नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

इनरुवा सवस्टेसन सञ्चालनमा नआएकोले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । सङ्खुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाई २ भदौ २०७८ मा ३३ केभीमा चार्च गरिएको थियो । 

प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गर्नुभयो । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

इनरुवा सबस्टेसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ । कोसी करिडोरअन्तर्गत बसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो । 

कोसी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट सङ्खुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एकतर्फ मात्र तार तानिएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।