• ५ साउन २०८१, शनिबार

प्रमको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

blog

काठमाडौँ, साउन २०  गते । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी र जलवायु विज्ञमा डा. माधवबहादुर कार्की नियुक्त हुनुभएको छ  ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो । धनकुटामा जन्मनुभएका सुवेदीले विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । भूराजनीतिका विषयमा स्वअध्ययन गर्नुभएका सुवेदीले नेपालको विदेश सम्बन्ध नीतिमा समयानुकूल पुनरवलोकन तथा परिमार्जन गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । यो विषयमा उहाँले विभिन्न कार्यपत्र, प्रवचन दिँदै आउनुुभएको छ । 

यसैगरी बैठकले विभिन्न मन्त्रालयका सचिवको सरुवा तथा बढुवा गरेको छ । बैठकले प्रशासनतर्फ सहसचिव दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिवमा बढुवा हुुुनुुभएका दीपक काफ्लेलाई पदस्थापन गरिएको छ ।

बढुवा हु्नुभएका काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख र विष्ट महालेखा परीक्षकको कार्यालयमा नायब महालेखा परीक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

अर्थ मन्त्रालयका सचिव मधुु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मा दिने निर्णय भएको  वन तथा वातावरणमन्त्री प्रदीप यादवले बताउनुभयो ।

बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्ली शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ ।