• १५ वैशाख २०८१, शनिबार

मृतक मतदाताको नाम हटाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २० गते । निर्वाचन आयोगले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य शुक्रबारबाट नै सुरु गर्ने जनाएको छ । आयोगले मृतक मतदातालाई सूचीबाट हटाउन शुक्रबारदेखि नै जुट्ने प्रस्ट्याएको छ । 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “स्थानीय निर्वाचनमा मृत्युभएका व्यक्तिको नाम समावेश रहेको सञ्चारमाध्यममा प्रकाशन भएको थियो, त्यसलाई यथार्थ बनाउन र नीतिगत तथा व्यावहारिक रूपमा कसरी कार्यान्वयन गर्ने प्रक्रिया भोलिदेखि नै प्रारम्भ गर्ने छौं ।” स्थानीय तह निर्वाचन २०७९ मा मृतक मतदाताको सङ्ख्या करिब छ लाख हुन सक्ने गोरखापत्र दैनिकले समाचार प्रकाशन गरेपछि आयोगले मृतक मतदातालाई हटाएर नामावली अद्यावधिक गर्ने कार्य गर्न लागेको हो । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ तर स्थानीय निर्वाचनमा मृतक मतदाताको नाम सूचीबाट हटाएको थिएन । 

आयोगले यसअघि पनि प्रत्येक महिनाको पहिलो साता नामावली अद्यावधिक गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । पञ्जिकाधिकारी र नामावली दर्ता गर्ने अधिकारीबीच समन्वय हुन नसक्दा मतदाता सूचीबाट मृतक मतदाताको नाम हटेको छैन ।