• ५ साउन २०८१, शनिबार

जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण

blog

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा कटान गर्दै गाउँ पसेको चौधर नदी। तस्बिर : अर्जुन सिंह

अविनाश चौधरी

धनगढी, साउन १९ गते। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले निम्त्याएको समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। 

अहिले प्रदेशको विभिन्न ठाउँमा नदीले बस्तीसमेत कटान गरिरहेकाले समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने समितिको ठहर छ। केही दिनमात्रै सो संसदीय टोलीले कैलाली, कञ्चनपुरको विभिन्न क्षेत्रमा बाढी, डुबान, कटानको अवलोकन गरेको थियो। 

अनुगमनका क्रममा कतिपय ठाउँमा नदीले बस्तीसमेत कटान गरिरहेको पाइएको समितिका सभापति हर्कबहादुर कुँवरले बताउनुभयो। उहाँका अनुसार कैलालीको टीकापुर, भजनी र जोशीपुर क्षेत्रका कतिपय बस्तीमा अझै कटान रोकिएको छैन। 

‘कतिपय ठाउँमा विद्यालयसमेत कटानको जोखिममा छन, थोरै लगानीमा समस्या समाधान हुनसक्ने अवस्था छ’, सभापति कुँवरले भन्नुभयो, ‘तर, प्रदेश सरकारको यसतर्फ ध्यान पटक्कै गएको छैन।’ मौसमविद्ले भदौमा ठूलो बाढी आएमा कैलाली, कञ्चनपुरमा धेरै बस्ती डुवानमा पर्नसक्ने र धेरै क्षति हुन सक्ने भएकाले पूर्व तयारी चुस्त बनाउन सरकारलाई आग्रह गरेका छन्। 

टीकापुर पार्कको छेउमा सङ्घ सरकारको करोडौं बजेट लगानीमा दुई वर्षदेखि तटबन्ध निर्माण गरिरहेको भए पनि यो वर्ष काम गर्ने ठेकेदार नै फरार भएको कुँवरले बताउनुभयो। ‘अहिले कर्णाली नदीको पानी र बस्ती बराबर अवस्थामा छ’, उहाँले भन्नुभयो, ‘सरकारले सम्बन्धित मन्त्रालयमार्फत समयमै तटबन्ध निर्माण वा रोकथामका काम गर्नुपर्छ।’

प्रतिपक्षी दल नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य लीलाधर भट्टले बाढी, पहिरो अहिले आइरहे पनि जनताको जीउधनको रक्षाका लागि सरकारको ध्यान नपुगेको बताउनुभयो। ‘अहिले भइरहेका विपद्का घटना न्यूनीकरणका लागि म सरकारलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो। 

प्रदेश सभा सदस्य भट्टका अनुसार बैतडीको गोकुलेश्वर, ढुङ्गाढ लगायतका क्षेत्रका बाढी पहिरो प्रभावितले अझै पनि सरकारबाट राहत पाएका छैनन्। गतवर्षको बाढी पहिरोलो सो क्षेत्रमा ठूलो नोक्सान गरेको थियो। 

राहत नपाएका प्रभावितलाई चाँडोभन्दा चाँडो राहतको प्रबन्ध गरिनुपर्ने अर्का प्रदेश सभा सदस्य भरतबहादुर खड्काको जोड छ। सत्तापक्ष नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नुहुने उहाँले विपदमा परेका जनताहरु प्रदेश सरकार रहेको महसुस गर्न नसकिरहेको जिकिर गर्नुभयो। 

‘प्रभावित र मृतकका परिवारलाई प्रदेश सरकारकै राहत पुगेको छैन’, भट्टले भन्नुभयो,‘अहिले पनि धेरै मान्छे समस्यामा छन्, उनीहरुको घर कसरी बचाउने ? त्यो समस्या छ। तर, प्रदेश सरकारको तर्फबाट कटान नियन्त्रण गर्न एउटा जाली पनि लगाइएको अवस्था छैन।’

कञ्चनपुरको एउटै निर्वाचन क्षेत्रमा रहेको स्याली, सनबोरा, वनहरा, मोहना, मछेली नदी र गौरी, अनौकी, धारापानी, ओदाल, बाउरा खोलानालाले ठूलो क्षति गरिरहेको जनाइएको छ। यी नदी र खोलानालाले खेतीपाती भएको जमिन कटान गर्नुका साथै स्थानीयको घर गोठसमेत बगाइरहेको प्रदेश सभा सदस्य महेशदत्त जोशीले बताउनुभयो। उहाँका अनुसार यी नदी, खोलानालाबाट पीडित जनता सरकार खोजिरहेका छन्। ‘बाढी, पहिरो जस्ता प्राकृतिक विपद्का कारण जनता आक्रान्त भएको भन्दै उत्पन्न समस्या समाधानका लागि प्रदेश सभा सदस्यले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ। अहिले मनसुन सक्रिय भएपछि विभिन्न नदीनालामा बाढी आइरहेको छ।