• ११ मंसिर २०८१, मङ्गलबार

बन्द खरी उद्योग चलाउन माग

blog

बाबुराम शर्मा

चरीकोट, साउन १९ गते । हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ । 

८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् । 

नेपाली काँग्रेस, दोलखा जिल्ला पार्टी सभापति बर्मा लामाले भन्नुभयो, “सरकारले यो उद्योग चलाउन नसक्दा यो परिस्थिति आएको हो । सरकारले निजी क्षेत्रलाई दिएर सञ्चालनमा ल्याउनुपर्छ ।” 

नेपाल कम्युनिस्ट पार्टी एमाले, जिल्ला सङ्गठन समिति दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले सरकारकै कमजोरीले यो कम्पनी सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले रोजगारीसमेत सिर्जना हुने भएकाले छिट्टै उद्योग सञ्चालन गर्नुपर्ने माग गर्नुभयो । 

स्थानीयवासीले रोजगारी पाउने, राज्य तथा जिल्लालाई नै प्रत्यक्ष फाइदा हुने भएकाले तत्काल सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक कुलबहादुर बुढाथोकीले बताउनुभयो । 

उत्पादनले बजार नपाएको तथा लगानीकर्ताबीच विवाद भएकाले १० वर्ष पनि नचल्दै यो उद्योग बन्द भएको थियो । तीन अर्ब ५९ करोड रुपियाँको लगानीमा २०३६ सालदेखि सञ्चालनमा आएको उद्योगमा नेपाल सरकारको ७५ प्रतिशत, भारतीय कम्पनी उडिसा इन्डस्ट्रिज लिमिटेडको साढे १२ प्रतिशत र नेपाली लगानीकर्ता मोहनगोपाल खेतानको साढे १२ प्रतिशत लगानी रहेको थियो । भारतीय लगानीकर्ताले आफ्नो सेयर तीन करोड ७५ लाख रुपियाँ फिर्ता लगिसकेका छन् । 

म्याग्नेसाइट तथा खरी प्रशोधनका लागि सिन्धुपाल्चोकको लामोसाँघुसम्म पु-याउन २०४० सालतिर १६ करोड रुपियाँमा रोपवे निर्माण भएको थियो । अहिले उद्योगको करोडौँका सामान खिया लागेर बिग्रिएको अवस्थामा छन् । खानी परिसरमा चारवटा डोजर, १२ वटा टिप्पर र होल खोप्ने तीनवटा मेसिन अलपत्र अवस्थामा देखिन्छन् । 

उद्योगका भौैतिक संरचनामध्ये एक नम्बर कोलोनीमा रहेका भवन भग्नावशेष बनेका छन् । मुख्य साइट कार्यालय परिसरमा थोत्रा गाडी राखिएका छन् । 

उद्योग सञ्चालनमा रहँदा पाँच सय कर्मचारी तथा दुई हजार मजदुर रहेका थिए । अहिले पनि खरीढुङगा, तौथली, टेकनपुर, लामोसाँघु र काठमाडौँमा गरी चौकीदारसहित १८ जना कर्मचारी अझै छन् । द्वन्द्वका समयमा उद्योगका सवारीसाधन र केही भवनमा आगजनी भएको थियो । 

कम्पनीका अनुसार प्वाल बनाउने तीनवटा मेसिन जलाइएकाले काममा समस्या परेको छ । अहिले खरी निकाल्ने काम पनि बन्द गरिएको छ ।

स्थानीयका अनुसार २०५८ सालसम्म खानीबाट म्याग्नेसाइट निकालिएको थियो । साथै म्याग्नेसाइट र खरी उत्खनन गरी नमुना परीक्षणकै नाममा विदेश निर्यात गरिएको थियो । कर्मचारीलाई तलब खुवाउन भन्दै धेरै वर्षसम्म खरी निकालेर लैजाने गरिएको थियो । अझै पनि खानीमा एक हजार आठ सय टन म्याग्नेसाइट रहेको अनुसन्धानले देखाएको छ । ४० वर्ष बितिसक्दा पनि व्यवस्थित रूपमा खानी सञ्चालन गर्न खासै चासो देखाइएको छैन । 

तत्कालीन लाँकुरीडाँडा गाविस र त्यस आसपासमा करिब ४७ वर्षअघि खानी पत्ता लागेपछि २०३६ सालमा उद्योग स्थापना गरिएको थियो । उद्योगले स्थानीयवासीलाई छ सय रोपनी जग्गाको मुआब्जा तिरेको छ । 

म्याग्नेसाइट उद्योगबाट तत्कालीन लाँकुरीडाँडा–७, बोच–१, मागापौवा–४, भीमेश्वर नगरपालिका–५ र सिन्धुपाल्चोकको जेठाल गाविसका जनता प्रभावित भएका छन् । 

काँग्रेस सभापति लामा, सिन्धुपाल्चोकका नेताहरूले केही समयअघि उद्योग सञ्चालनका बारेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्दप्रसाद्र बडूसमक्ष उद्योगबारे छलफल गरेका थिए । सभापति लामाले भन्नुभयो, “यसमा ठूला उद्योगीको लगानी रहेकाले उद्योग सञ्चालनमा आनाकानी भएको हो । सरकार आफैँले वा सार्वजनिक निजी साझेदारीमा उद्योग सञ्चालन गर्न उचित हुन्छ ।”