• ४ जेठ २०८१, शुक्रबार

नागरिकता लिने विद्यार्थीको घुइँचो

blog

जिल्ला प्रशासन कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १८ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् सर्लाहीमा नागरिकता बनाउने विद्यार्थी ह्वात्तै बढेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुनेगरेको छ । 

इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रामनरेश रामले एसईईको नतिजा सार्वजनिक भएलगत्तै नागरिकता फाँटमा सेवाग्राहीको चाप दोब्बर वृद्धि भएको जानकारी दिनुभयो । बरहथवाबाट दैनिक ३० देखि ४० जनासम्मले नयाँ नागरिकता लिने गरेकोमा एसईईको नतिजापछि दैनिक ७० देखि ८० जना सेवाग्राही नागरिकता बनाउन आउनेगरेको कार्यालयले जनाएको छ । 

एसईई उत्तीर्ण भएपछि प्राविधिक विषय अध्ययन गर्न र अन्य प्रयोजनका लागि नागरिकता चाहिने भएकाले नागरिकता बनाउन आउने विद्यार्थी बढेका कार्यालयका प्रमुख रामले बताउनुभयो । बरहथवामा केही दिन अघिबाट राष्ट्रिय परिचयपत्रका लागि ‘अफलाईन’ फाराम भर्न थालेपछि सेवाग्राहीको चाप बढेको हो । बरहथवामा ‘अफलाईन’ भरिएको फाराम जिल्ला प्रशासन कार्यालय मलङ्गवामा लगेर ‘अनलाईन’ गर्ने गरिन्छ । 

केही दिनभित्रै आवश्यक प्रविधि र कर्मचारीको व्यवस्था गरी बरहथवाबाटै ‘अनलाईन’ फाराम सङ्कलनको काम गर्ने तयारी भइरहेको कार्यालय प्रमुख रामले जानकारी दिनुभयो । त्यस्तै, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख गुणबहादुर भुजेलका अनुसार हरिवनमा नयाँ नागरिकता र प्रतिलिपि नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ । 

हरिवनबाट अहिले दैनिक ३० देखि ३५ वटासम्म नयाँ नागरिकता जारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, नागरिकता फाँटमा प्रायः भीडभाड हुने जिल्ला प्रशासन कार्यालय मलङ्गवामा एसईईको नतिजापछि सेवाग्राही अझ बढेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो ।  

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार कार्यालयबाट दैनिक १०० देखि १२० जनासम्म नयाँ नागरिकता र ८० देखि १०० जनासम्म प्रतिलिपि नागकिरता लिइरहनुभएको छ । यता, एकै पटक ह्वात्तै भिडभाड बढ्दा नागरिकता बनाउन जाँदा घन्टौंसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । सीमित कर्मचारी रहेका प्रशासन कार्यालयलाई सेवाग्राहीको चाप बढ्दा, त्यसको व्यवस्थानमा चुनौती थपिएको छ ।