• १६ भदौ २०८१, आइतबार

भारतमा कोरोना सङ्क्रमणमा पुनः वृद्धि

blog

नयाँदिल्ली, साउन १८ गते । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार १४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः वृद्धि भएको देखिएको छ  ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार ८२३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार ६१० पुगेको छ ।

मङ्गलबार २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । कोरोनाबाट पाँच लाख २६ हजार ४७७ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार ७३२ मात्रा खोप लगाइएको छ । रासस/सिन्ह्वा