• ४ जेठ २०८१, शुक्रबार

यात्रुबाट मनपरी भाडा असुलेको गुनासो

blog

सवारीसाधन चेकजाँच गर्दै प्रहरी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन १८ गते । यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ । 

जिल्लाको तानसेन–बुटवल, तानसेन–हार्थोक–छहरा, तानसेन–रामपुर, तानसेन–बाँसटारी–झडेवा सडकखण्डमा सरकारले तोकेकोभन्दा तेब्बर भाडा तिर्नुपरेको यात्रुको गुनासो छ । पक्की सडक तथा ग्राभेल सडकका लागि सरकारले पछिल्लो पटक प्रतिकिलोमिटर दुई रुपियाँ ९३ पैसा व्यक्तिगत भाडा तोकेको थियो । तर पाल्पाका अधिकांश यात्रुबाहक बस, कार, भ्यान तथा जिपले भने दोब्बर तेब्बर भाडा असुल गर्दैआएको तानसेन –९, का स्थानीय बासिन्दा ध्रुबप्रसाद पंगेनीले गुनासो गर्नुभयो । 

पाल्पामा सञ्चालित यात्रुबाहक बसले पक्की सडकमा समेत प्रतिकिलोमिटर १५ रुपियाँ भाडा लिने गरेको उहाँले बताउनुभयो । बाँसटारीदेखि देउगीरसम्मको पक्की सडकमा यात्रुबाहक सवारीसाधनले प्रतिकिलोमिटर १५ रुपियाँ भाडा लिएको गुनासो गर्नुभयो । यात्रुबाहक बसको भाडा बढेको विषयमा यात्रुहरूले विभिन्न स्थानमा गुनासो राख्ने गरे पनि हालसम्म सम्बोधन हुन नसकेको भनाइ छ । 

जिल्लाको तानसेन–छहरा सडकखण्डमा समेत यात्रुबाहक बस तथा मिनीबस, जिप, कार तथा भ्यानले समेत तेब्बर भाडा असुल गरेका छन् । यात्रुबाहक सवारीसाधनले लिने भाडाको विषयमा नियमित अनुगमन हुन नसक्दा यात्रुलाई सवारीसाधनले मनपरी भाडा लिनेगरेका छन् । 

सवारीसाधनले यात्रुहरूले देख्ने स्थानमा भाडा टाँस गर्नुपर्ने, होर्डिङ् बोर्ड राख्नु पर्नेजस्ता प्रावधान पाल्पाका सवारीसाधनले कार्यान्वयन गरेका छैनन् । बस, भ्यान, जिप, कारमा कहीँ पनि भाडासम्बन्धी सूचना टाँस गरिएको छैन । जिल्ला सदरमुकाम तानसेनदेखि रामपुर जाने सडकमा यात्रुहरूले प्रतिकिलोमिटर १३ देखि १७ रुपियाँसम्म भाडा तिर्न बाध्य भएका छन् । रामपुर क्षेत्रको पक्की सडकमा भ्यानले प्रतिकिलोमिटर १७ रुपियाँ र बसले १३ रुपियाँ लिनेगरेको स्थानीय बासिन्दाको भनाइ छ ।  

यात्रुबाहक सवारीसाधनले मनपरी भाडा असुल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले अनुगमन गर्ने तयारी गरेको छ । जिल्लामा सञ्चालित पश्चिामाञ्चल यातायात व्यवसायी र श्रीनगर यातायात व्यवसायी समितिबाट सञ्चालित सवारीसाधनले मनपरी भाडा लिएको गुनासो आएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । ‘यात्रुबाहक सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा लिएको गुनासो आएको छ’ उहाँले भन्नुभयो “गुनासो आएपछि अनुगमन गर्ने तयारी गरेका छौँ ।” अनुगमनका क्रममा यात्रुबाट मनपरी भाडा लिए कानुनअनुसार ठगीको मुद्दा चलाइने मल्लले बताउनुभयो ।