• १० मंसिर २०८१, सोमबार

कस्तो छान्ने ?

blog

प्रा.डा. बालचन्द्र लुइँटेल 

माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका विद्यार्थीका लागि कक्षा ११ मा विषय छनोट सबैभन्दा चुनौतीपूर्ण हुने गर्छ । सही विषय छनोट गर्न नसक्दा भविष्य समस्याग्रस्त हुने भएकाले यसलाई गम्भीर रूपमा लिइनु पनि पर्छ । वर्तमान पाठ्यक्रम प्रणालीअनुसार कक्षा ९ देखि नै विषय छनोटको व्यवस्था छ । हुनुपर्ने त्यही हो । तथापि हामीले पुरानै परम्परालाई कायम राखेका छौँ । अर्थात् विज्ञान, व्यवस्थापन, मानविकी आदि सङ्कायगत रूपमा पढ्न खोज्छौँ । त्यही पढाइ रहेका छौँ । 

नियमतः त्यो मिल्दैन । वर्तमान शिक्षा प्रणालीअनुसार कक्षा ९–१२ एउटा प्याकेज हो । कक्षा ९ मा छानेकै विषय कक्षा १२ सम्म पढ्नुपर्छ तर कक्षा ९ र १० मा पढेका विषयलाई ‘ब्रेक’ गरिन्छ र पुनः कक्षा ११ र १२ मा नयाँ विषय छान्नुपर्ने परम्परा छ । यो प्रचलन त्यति मिलेको छैन । शिक्षण संस्थाले पनि सोच्नुपर्छ । कक्षा ९–१२ लाई एउटा प्याकेज गर्दा उनीहरूलाई नै फाइदा हुन्छ । किनकी नयाँ विद्यार्थी कक्षा ९ मा भर्ना लिन पाउने भएपछि कक्षा ११ का लागि अतिरिक्त परिश्रम गर्नुपर्दैन । 

कक्षा ११ मा भर्नाका लागि प्रयासरत विद्यार्थीले तीन वटा कुरालाई ध्यान दिनुपर्छ– विषय, शिक्षण संस्था र सम्बन्ध । विद्यार्थीको रुचि के हो त ? केमा उनीहरू राम्रा छन् ? उनीहरूको विगतको ‘परफरमेन्स’लाई हेर्दा राम्रो हुन्छ । कक्षा १० वा एसईईको मात्र ‘परफरमेन्स’भन्दा पनि त्यसअघिको कस्तो थियो त ? एसईईको त तीन घण्टाको परीक्षाको मात्र ‘परफरमेन्स’ हो । त्यसले धेरै कुरा निर्धारण नगर्न सक्छ । त्यसैले आफ्नो रुचि के छ ? इच्छा के छ ? कुन क्षेत्रमा धेरैभन्दा धेरै समय बिताउन सकिन्छ ? कुन विषय ‘प्यासन’ हो ? यी कुरा विद्यार्थीले खुट्याउनुपर्ने हुन्छ । आफूले खुट्याउन नसक्दा ‘करिअर काउन्सिलिङ वा एजुकेसनल काउन्सिलिङ’को व्यवस्था हुनसक्छ । 

सिकाइलाई प्राथमिकता दिन्छन् कि ग्रेडलाई ? सिकाइलाई प्राथमिकता दिन्छन् भने सफलतालाई सुनिश्चित गर्न सकिन्छ । सफलता प्राप्त गर्नुमा विद्यार्थीको पनि उत्तिकै दायित्व हुने भए पनि शिक्षकको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ । दुई वर्षको सिकाइ प्रभावकारी बनाउने जिम्मेवारी शिक्षककै रहन्छ । 

अचेल कतिपय विद्यालयले त्यस्तो सुविधा उपलब्ध गराउन पनि थालेका छन् । आफूभन्दा अघिल्ला ब्याचका विद्यार्थीसँग सोध्ने वा बुझ्ने तरिका पनि हुनसक्छ । परिवारमा छलफल गर्ने तरिका पनि हुनसक्छ । आफूले कक्षा १० अध्ययन गरेको विद्यालयका विश्वास मानिएका शिक्षकसँग पनि छलफल गर्न सकिन्छ । 

ग्रेड हेरौँ

अर्काे कुरा विद्यार्थीले प्राप्त गरेको नतिजा अर्थात् ग्रेड पनि हेर्नुपर्छ । कुन विषयमा विद्यार्थीले राम्रोसँग गर्न सकेको देखिन्छ । हुन त तीन घण्टाको परीक्षाले सबै कुरा भन्न सक्दैन । तथापि कुनै न कुनै विषयमा तुलनात्मक रूपमा राम्रो ग्रेड प्राप्त भएको हुनसक्छ । ग्रेडको ढाँचालाई हेर्दा विज्ञान वा गणिततर्फ छ कि, व्यवस्थापनतर्फ छ कि, मानविकीतर्फ छ कि, कतापट्टी झुकाव छ भन्ने देखिन्छ । हुन त अहिलेको पाठ्यक्रम एकल पथीय हो । त्यसमा विज्ञान, व्यवस्थापन, मानविकी भन्न मिल्दैन तर परम्परागत रूपमा चल्दै आएकोलाई अझै व्यावहारिकता विस्थापित गर्न सकेका छैनौँ । अहिलेको पद्धतिअनुसार विद्यार्थीले भौतिकशास्त्र पनि पढ्न पाउँछन्, फाइन आर्टस् पनि पढ्न पाउँछन् तर हामीले यसलाई एउटा व्यापारिक रूपमा ढालेका छौँ । पहिलेदेखि नै विज्ञान, व्यवस्थापन, मानविकी भनिरहेकोले त्यसको वातावरण त्यस्तै बनेको छ तर विश्वको शिक्षा पद्धतिलाई हेर्ने हो भने कक्षा ९–१२ मा यसरी विज्ञान, गणित वा यो विषय भनेर छुट्टयाउने चलन छैन । त्यस्तो ए लेभलमा छैन । आइभीमा क्लस्टर छ तर त्यसरी छुट्टिदैन । अर्थात् छुट्टयाउनका लागि प्रोत्साहन गरिँदैन । मिश्रित खालका विषय पढ्न प्रोत्साहन गरिन्छ तर हामीकहाँ सोलोडोलो भइदियो । कसैले अलिकति विज्ञान र अलिकति व्यवस्थापन पढ्छु भन्ने इच्छा राख्नसक्छन् । त्यो ढङ्गको व्यवस्थापन हामीकहाँ अलिकति अभाव छ । यसले गर्दा कक्षा ११ र १२ मा के पढ्ने भन्ने कुरा विद्यार्थीको ग्रेडले निर्धारण गर्ने गरेको छ । उनीहरूको ग्रेड कुनमा राम्रो हुन्छ, तिनै विषय पढ्नुपर्ने हुन्छ । 

कक्षा ११ र १२ मा के पढ्ने भन्ने कुरा विद्यार्थीको ग्रेडले निर्धारण गर्ने गरेको छ । उनीहरूको ग्रेड कुनमा राम्रो हुन्छ, तिनै विषय पढ्नुपर्ने हुन्छ ।  

शिक्षण संस्था के आधारमा छनोट गर्ने भन्ने कुरा महत्त्वपूर्ण र चलाखीपूर्ण छ । अहिलेको विद्यार्थीले स्कुल एकदमै राम्रो होस्, खेलमैदान पनि राम्रो होस्, खेल्न पनि पाइयोस्, अतिरिक्त क्रियाकलाप पनि राम्रो होस् भन्ने दृष्टिकोणले छनोट गर्छन् । त्यो छनोट त्यति नराम्रो होइन । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी १७–१८ वर्षका हुन्छन् । उनीहरूको शारीरिक विकास एकदमै बढी हुनुपर्छ । त्यो बाहेक उनीहरूले स्कुलमा कस्तो खालको परामर्श अभ्यास छ त्यो पनि हेरुन् । सरसल्लाह कतिको पाइन्छ ? पढाइको अतिरिक्त कुराकानी गर्ने वा छलफल गर्ने खालको व्यवस्थापन छ कि छैन ? त्यसमा पनि हेक्का राख्नुपर्छ । यो उमेर समूहलाई पढाउने र छोडिदिने मात्र होइन, उनीहरूका लागि खेलकुद, आर्टस् एण्ड क्राफ्टका क्रियाकलाप, साहित्यका क्रियाकलाप, कला संस्कृतिसम्बन्धी क्रियाकलाप एकदमै महत्त्वपूर्ण हुन्छन् । किनकी कक्षा १२ पछि विश्वविद्यालयमा पाउने भर्ना उनीहरूको अतिरिक्त क्रियाकलापमा पनि निकै आधारित हुन्छ । 

शिक्षकको व्यवहार

सकेसम्म दुई वटा ‘डिसिप्लिन’बाट विषय छान्न मिल्ने भए अझ राम्रो । त्यस्तो खालको अवसर र वातावरण भएको स्कुल भइदिएमा त्यसैतर्फ विद्यार्थी जानुपर्छ । अहिलेको विश्व परिवेश भनेको ‘मल्टी डिसिप्लिनरी’ अर्थात् एकभन्दा बढी ‘डिसिप्लिन’बाट पढ्ने भन्ने नै हो । बाहिरका राम्रा विश्वविद्यालयमा यस्तो व्यवस्था छ । सम्भवतः नेपालका विश्वविद्यालय पनि यो प्रक्रियाबाट जान्छन् होला । जानुपर्छ । 

विद्यार्थीले भर्ना हुनुअघि स्कुल शिक्षकका बारेमा पनि बुझ्नुपर्छ । शिक्षक कस्तालाई राखिएको छ ? कस्तो अध्यापन गर्छन् ? विद्यार्थीसँग कस्तो व्यवहार गर्छन् ? सिकाइलाई प्राथमिकता दिन्छन् कि ग्रेडलाई ? सिकाइलाई प्राथमिकता दिन्छन् भने सफलतालाई सुनिश्चित गर्न सकिन्छ । सफलता प्राप्त गर्नुमा विद्यार्थीको पनि उत्तिकै दायित्व हुने भए पनि शिक्षकको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ । दुई वर्षको सिकाइ प्रभावकारी बनाउने जिम्मेवारी शिक्षककै रहन्छ । सिकाइलाई प्रभावकारी ढङ्गले कक्षाकोठामा व्यवस्थापन गर्नसक्ने शिक्षकप्रति विद्यार्थी आकर्षित हुन्छन् । 

विद्यार्थी यो उमेरमा स्थिर हुँदै जान्छन् । स्थिरको एउटा महत्त्वपूर्ण पाटो सम्बन्ध हो । सम्बन्ध राम्रो भइदिएमा शिक्षकप्रतिको आदरभाव बढ्दै जान्छ । एकदम राम्रो पढाइदिने, जानेको कुरालाई जानेको र नजानेको कुरालाई मलाई आउँदैन भन्ने शिक्षकलाई विद्यार्थीले विश्वास गर्छन् । त्यस्तो शिक्षक खोजी गर्नुपर्छ । हुन त नेपालमा शिक्षकको खुला सर्वे गर्ने त्यस्तो पोर्टल वा प्रणाली छैन । त्यो हुनु जरुरी छ । को शिक्षक राम्रो ? काठमाडौँको एक स्कुलमा साइन्स पढाउने पाँचजना राम्रो हुनुहुन्छ, गणित पढाउने हुनुहुन्छ अङ्ग्रेजी पढाउने हुनुहुन्छ, यी यी शिक्षकको रेटिङ यस्तो छ भन्ने भइदिएको भए निकै सजिलो हुन्थ्यो । अघिल्ला ब्याचका विद्यार्थीसँग शिक्षकका बारेमा बुझ्न सकिन्छ ।

प्रिन्सिपलको दृष्टिकोण

अधिकांश निजी स्कुल कसले सञ्चालन गरेको छ ? शिक्षाप्रति ती व्यक्तिको दृष्टिकोण र लक्ष्य के रहेछ ? वास्तवमा उनले नाफा कमाउन मात्र शिक्षण संस्था सञ्चालन गरिरहेका छन् ? उनले शिक्षाप्रति नै समर्पित भएर स्कुल सञ्चालन गरिरहेका छन् ? सञ्चालकको समर्पण शिक्षाप्रति भएका स्कुल खोज्नु अति महत्त्वपूर्ण हुन्छ । यसले विद्यार्थीको सोच्ने तरिकालाई असर पार्न सक्छ । पैसामुखी स्कुल भइदियो भने शिक्षामा ध्यान हुँदैन, आर्थिक कमाउनमा मात्र ध्यान हुन्छ । विद्यार्थीले पनि पैसामुखी सिक्न सक्छन् । पैसामुखी स्कुलले पोसाकमा ध्यान दिन्छन्, मोटामोटा किताबमा ध्यान दिन्छन् तर सिकाइमा ध्यान नदिन सक्छन् । जुन स्कुलका नेतृत्वले, प्रिन्सिपलले, भाइसप्रिन्सिपलले, कोर्डिनेटरले सिकाइलाई प्राथमिकतामा राख्छन् भने अभिभावकले खुसी भएर शुल्क तिरिहाल्छन् । सिकाइलाई पहिलो प्राथमिकतामा राख्ने नेतृत्वलाई हेर्नुपर्छ । 

अर्काे कुरा दूरी पनि हेर्नुपर्छ । साह्रै टाढा टाढा यात्रा गर्ने कुरा त्यति राम्रो हुँदैन । लामो यात्रा गर्दा थाकिन्छ । स्कुल पुग्दै थाकिन्छ । घर पुग्दै थाकिन्छ । पढ्न मन लाग्दैन । त्यो महत्त्वपूर्ण कुरा हो । अहिले ठूलो ठूलो भवन खोज्ने र टाढा टाढाबाट त्यही भर्ना हुन जाने प्रवृत्ति बढेको छ । आफ्नो बसोवासको नजिकमा राम्रो स्कुल छ भने त्यहाँ भर्ना किन नगर्ने ? त्यसैलाई पहिलो रोजाइ किन नबनाउने ? राम्रो भौतिक पूर्वाधार त चाहिएला तर राम्रो भनेको के हो ? केलाई राम्रो भन्ने ? त्यसको मापदण्ड आफँैले बनाउनुपर्छ । सायद कक्षाकोठा ठिकै खालको, अलिअलि पुस्तकालय भएको, विज्ञान प्रयोगशाला भएको, शिक्षकले तयार पार्ने मनोविज्ञान वातावरण नै सबैभन्दा ठूलो कुरा हो । भौतिक पूर्वाधार जति महत्त्वपूर्ण हुन्छ त्योभन्दा बढी महत्त्वपूर्ण मनोवैज्ञानिक वातावरण हो । त्यसैले सामान्य मापदण्ड तयार गरी घर नजिकका स्कुलमा भर्ना हुँदा राम्रो । 

अन्तिममा परामर्शकर्ता छन् कि छैनन् हेर्नुपर्छ । त्यो उमेर समूहका विद्यार्थीमा मनोवैज्ञानिक समस्या पर्न सक्छ । पढ्दापढ्दै पढ्ने मन नलाग्ने हुनसक्छ वा सिक्न समस्या हुनसक्छ । यी कुरालाई सम्बोधन गर्ने केही संयन्त्र स्कुलमा छ कि छैन ? त्यो पनि हेर्नुपर्छ । स्कुल जानु भनेको पढ्नु मात्र होइन । सफलतालाई सुनिश्चित गर्नु हो । त्यो सफलतालाई सुनिश्चित गर्न परामर्शकर्ता छ कि छैनन् ? यी विविध कुरामा विचार गरेर भर्ना हुन सकिन्छ । कक्षा ११ मा भर्ना हुने विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दछु । 

(काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डिन डा. लुइँटेलले प्रकृति अधिकारीसँग गर्नुभएको कुराकानीमा आधारित)