• ७ मंसिर २०८१, शुक्रबार

विज्ञान किन पढ्ने ?

blog

राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ अनुसार माध्यमिक तह अर्थात् कक्षा ११ र १२ मा विज्ञान सङ्काय छैन । व्यवस्थापन वा शिक्षा वा मानविकी वा कानुन वा अन्य सङ्काय पनि छैन । पाठ्यक्रमको नयाँ संरचनाअनुसार एकलपथीय भनिएको छ । एकलपथीयमा विषय वा सङ्काय भन्ने हुँदैन । विभिन्न विषयको संयोजन रहन्छ । समाजमा अझै पनि विज्ञान कि अरू धार भन्ने चलन छ । चलनचल्तीमा त्यही मान्यता रहँदै आएको छ । भर्खरै एकलपथीय पद्धति अवलम्बन गरिएकाले त्यसमा अझै हामी अभ्यस्त हुन सकेका छैनौँ । अझै पनि हामीले विज्ञान वा व्यवस्थापन वा मानविकी विषय भन्ने गरेका छौँ । लामो समयदेखि यसलाई बोकेकाले यसो भन्नु स्वाभाविक पनि हो । विज्ञान पढ्न भौतिकशास्त्र, जीवशास्त्र, रसायनशास्त्र र गणितको संयोजन गरिन्छ अथवा विज्ञान नलिनेले आआफ्ना विषयको संयोजन गरिन्छ । अहिले पनि त्यो चलन यथावत् छ । व्यवहारमा एकलपथीयमा अझैसम्म गइएको छैन । जस्तो ए लेभलमा गरिएको छ । त्यहाँ विषय छनोट गरिन्छ तर यहाँ विषय छनोट छैन । 

सामाजिक शिक्षा अहिले अनिवार्य छ । सबैले पढ्नुपर्छ । अङ्ग्रेजी र नेपाली पनि अनिवार्य नै छ । अर्थात् भाषा र समाज वा देश अनिवार्य पढाइन्छ वा पढ्नुपर्छ । त्यसपछि व्यवस्थापन वा मानविकी वा साहित्य वा शिक्षा वा कानुनको विषय पढ्ने भन्ने रोजाइको विषय हुन्छ । कक्षा १२ पछि ती विद्यार्थी शिक्षाको जुनसुकै धारतर्फ जानसक्ने हुनाले विज्ञानसँग सम्बन्धित विषय पढ्न सकिन्छ । विज्ञान विषय अध्ययन गर्न कसैलाई पनि हतोत्साही गर्नुहुँदैन । इच्छा राख्नेले पढून् । राम्रो गर्न सक्छु भन्ने चाहना वा आँट गर्न सक्नेले पनि पढून् । पढेपछि मार्ग प्रशस्त छ । किनकि ती विषयभित्र धेरै कुरा छन् । हुन त अर्थशास्त्रले अहिले समाज हाँक्छ । व्यवस्थापनले संसार हाँक्छ । कुनै पनि विषय महत्त्वपूर्ण र कम महत्त्वपूर्ण भन्ने हुँदैन । त्यो विषयलाई कति पढ्ने र कति सफल हुने भन्ने कुरा महत्त्वपूर्ण हो । अब्बल विद्यार्थीलाई विज्ञान पढ्नैपर्छ भनेर कर गर्नुहुन्न तर पढ्छु भन्नेलाई हुन्न भन्नुहुँदैन । 


हामी विद्यार्थी छँदाको ‘माइन्ड सेट’ फरक थियो । त्यो बेलाका मानिसको सोच के थियो भने अब्बल विद्यार्थीले जहिले पनि विज्ञान पढ्नुपर्छ । अरू विषय पढेमा उसको अब्बलपन नोक्सान हुन्छ भन्ने सोचिन्थ्यो । अब्बल विद्यार्थीले विज्ञान नै पढ्नुपर्छ र विज्ञान पढेर डाक्टर वा इन्जिनियर हुनुपर्छ भन्ने सोच राखिन्थ्यो । मानिसले यही दुई वटा कुरामात्र जानेका थिए त्यो बेला । तेस्रो कुरा जानेका थिएनन् । त्यो बेलाको यो सामाजिक मनोवृत्ति थियो । मानिसलाई यो लाग्दैनथ्यो कि विज्ञान पढेपछि भौतिकशास्त्र पढ्न सकिन्छ, भौतिकशास्त्र पढेर वैज्ञानिक बन्न सकिन्छ । उनीहरूलाई रसायनशास्त्री बन्न सकिन्छ, गणितज्ञ हुनसकिन्छ भन्ने कुरा थिएन । त्योभन्दा पनि विज्ञान पढेर कि डाक्टर वा इन्जिनियर हुने भन्ने मात्र अभिभावकले बुझेको थियो त्यो बेला । त्यो अभ्यास अहिलेसम्म चलेर आइरह्यो । त्यस बेलाको चलन थियो– पहिलो दर्जाका विद्यार्थीले विज्ञान पढ्ने, दोस्रो दर्जाका विद्यार्थीले व्यवस्थापन पढ्ने र तेस्रो दर्जाका विद्यार्थीले मानविकी पढ्ने । 

विचित्रको अवधारणा बनाइएको थियो त्यो बेला । तर विज्ञानकै अन्य विषयको महत्तवलाई त्यति बुझेका थिएनन् । विषयगत महत्त्व बुझिएन । भाषा पढेर भाषामा गर्नसक्ने क्षमताको महत्त्व बुझिएन । कला पढ्नेको कलाको महत्त्व बुझिएन । पत्रकारिता वा कानुन वा अन्य विषय थिए तर त्यसलाई मानिसले उच्च दर्जामा राखेर नहेर्ने बानी बन्यो । त्यो बानी केही प्रतिशतसम्म पनि अहिलेसम्म छँदैछ । त्यस कारण अहिले पनि राम्रो जीपीए प्राप्त भएमा विज्ञान नै पढ्नुपर्छ अरू विषय पढ्नु हुँदैन भन्ने धेरैको त्यो मान्यता छ । यो गलत हो ।

मजाले पढ्ने

अहिलेको युग विज्ञानको हो । जतासुकै विज्ञान छ । विज्ञान भन्नेबित्तिकै रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञानमात्र विज्ञान हुन् भन्ने होइन । हुन त अर्थशास्त्र पनि विज्ञान हो । गणित त आफैँमा विज्ञान हो । सबै विज्ञानको माता गणित हो । यो युग भनेको छनोट गरेको विषयमा अब्बल तरिकाले पढ्ने र त्यसमा आफू एक नम्बर हुने हो । त्यो कुरा विद्यार्थी वा अभिभावकले बुझिरहेका छैनन् । 

धेरै वर्षअघि मेरा एक विद्यार्थी, जसले साविकको एसएलसी परीक्षामा सर्वाेत्कृष्ट १० औँ स्थानमा सफल भएका थिए, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमबीबीएसमा नाम निकाले । केही दिनपछि उनले एमबीबीएस पढ्दैन भन्न थाले । म अमेरिका गएर भौतिकशास्त्र पढ्छु भनेर जिद्दी गरेँ । उनका अभिभावक हामीकहाँ आएर लौन सम्झाइदिनुप¥यो भन्नुभयो । तर उनले यति अडान लिए कि म भौतिकशास्त्र पढ्छु, एमबीबीएस त पढ्दै पढ्दिन भनिरहे । उनले म वैज्ञानिक बन्छु भने । त्यो सानो कुरा थिएन । भनेपछि विद्यार्थीले कता लगाव राख्दैछन् त्यो बुझ्नुपर्ने हुन्छ । यो नै विषय पढ्नुपर्छ भन्ने अभिभावकको दबाब हुन्छ । त्यसैले उच्च शिक्षामा साधारण विज्ञानको महत्त्व उत्तिकै छ भन्ने विद्यार्थीले जस्तै अभिभावकले पनि बुझ्न सक्नुपर्छ ।

विज्ञान विषय पढ्नसक्ने क्षमता राख्ने विद्यार्थीपछि जुन विषय पढे पनि उत्तिकै क्षमतावान हुन्छन् । किनकि उनको भाषा उत्तिकै राम्रो हुन्छ । उनको 

‘क्रिटिकल थिङ्किङ’ राम्रो हुन्छ । यो दुईवटा कुरा राम्रो हुनेबित्तिकै विद्यार्थीले उच्च तहमा जे पनि पढ्न सक्छन् । विज्ञान विषय पढ्न चाहनेलाई किन राम्रो हो भनेर बुझाउनुपर्छ । विज्ञान किन नपढ्ने भन्ने कुरा आउला । पढ्ने । मजाले पढ्ने । क्षमता भएका विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान पक्कै पढ्ने । किनकि त्यो पढिसकेपछि पनि त्यताबाट अन्त जाने बाटा प्रशस्तै छन् । कसैले छेक्दैन । विज्ञान पढेर पछि सीए हुन्छु भन्न पनि पाइन्छ । बीबीए पढ्छु भन्न पनि पाइन्छ । भाषा लिएर स्नातक अध्ययन गर्छु भन्न पनि पाइयो । पत्रकारिता पढ्छु भन्न पनि पाइन्छ । कानुन पनि पढ्छु भन्न पाइयो । कताकता जान चाहन्छन् त्यता सबैतिर बाटो खुला हुन्छ । त्यसैले कक्षा ११ मा विज्ञान पढ्छु भनेपछि बिग्रनेवाला केही छैन । बरु गैरविज्ञानबाट विज्ञानमा फर्किन्छु भन्दा पाइएन । मेरो विषय गैरविज्ञान भयो अब इन्जिनियरिङ वा मेडिसिन पढ्छु भन्न पाइएन । तर विज्ञान पढेर डाक्टर इन्जिनियर बन्दिन अरू पेसामा जान्छु भन्न पाइन्छ । त्यसैले विज्ञान पढ्दा उसको सोच, तर्क, जग, आधार सबै कुरा पूरा हुन्छ । फरक हुन्छ ।

भोलि इन्जिनियर वा डाक्टर हुनका लागि जग त विज्ञान नै चाहिन्छ । त्यसका लागि यो जरुरी भयो । विज्ञानसँग सम्बन्धित प्राध्यापक वा अनुसन्धानकर्ता हुनका लागि पनि विज्ञान विषय पढ्नैपर्छ । पहिले विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । उनले के पढेर कहाँ जाने भन्ने लक्ष्य लिएका छन् ? उनले  लक्ष्य निर्धारण गर्नुपर्छ– किन विज्ञान पढ्ने ? धेरै जीपीए ल्याएको छु त्यसैले विज्ञान पढेको भन्छन् भने त्यो गलत हो । ममा यति क्षमता छ र मेरो लक्ष्य यो हो भनेर निर्धारण गर्नसक्छन् भने बल्ल सही छनोट विज्ञान हुनसक्छ । 

लहलहैमा नलागौँ

विद्यार्थीले कक्षा ११ र १२ मा भौतिक विज्ञान वा रसायनशास्त्र पढिरहेका छन् तर लक्ष्य स्पष्ट भएन भने भोलि समस्या पर्न सक्छ । इन्जिनियरिङमा भर्नाका लागि कोशिस गर्लान्, मेडिकलमा कोशिस गर्लान् तर सक्दैनन् र बल्ल लक्ष्य निर्धारण गर्लान् । यस्तो हुनु राम्रो होइन । इन्जिनियर वा डाक्टर वा केमिस्ट वा वैज्ञानिक बन्नका लागि लक्ष्य बनाएर पढ्नैपर्दछ । होइन अहिले पढ्दै गर्छु भोलि हेरौँला भन्नेले पनि विज्ञान पढ्दा बिग्रने केही छैन तर आफू स्पष्ट हुँदा राम्रो । धेरै कमजोर छु वा काम चलाउका लागि वा समाजमा प्रतिष्ठाका लागि वा साथीभाइको लहलहैमा पढ्ने हो भने विज्ञान नपढ्दा हुन्छ । भोलि अड्कियो, पार लगाउन सकिएन वा थोरै अङ्क ल्याएर अल्झियो भने त्यो मजा हुँदैन । बरु त्योभन्दा अहिले नै उनले सक्ने र रुचिको विषयतर्फ लाग्दा राम्रो । हुन त नसक्ने भन्ने त केही छैन । रुचि भयो भने सकिन्छ । 

कुनै विद्यार्थीलाई भाषामा रुचि हुन्छ । उनको भाषा निकै राम्रो दख्खल हुन्छ । कुनै विद्यार्थीलाई विज्ञानप्रति निकै रुचि हुन्छ । कसैको गणित असाध्यै राम्रो हुन्छ । सबैको सबै विषय राम्रो नहुन सक्छ । त्यसैले मेरो कुन विषयमा रुचि र जग कुन विषयमा दह्रो छ तथा मेरो भविष्यको लक्ष्य के हो त्यो विचार गरेर पढ्नुपर्छ । विषय छनोट गर्नुपर्छ । अहिले विज्ञान वा गैरविज्ञानभन्दा पनि रुचि र क्षमताले भ्याउने विषय के के हुन् त्यो रोजेर पढ्नुपर्छ ।

कक्षा १२ पूरा गरेपछि विज्ञान विषयको महत्त्व निकै हुन्छ । विज्ञान विषयमा विद्यार्थीलाई विज्ञानका शिक्षकले नै अध्यापन गर्न पाउँछन् । अध्यापन गर्न राम्रा र स्तरीय अध्यापक चाहिन्छन् । त्यसका लागि विज्ञानको महत्त्व रहन्छ । अनुसन्धानकर्ता राम्रा चाहिएका छन् । ती उत्पादन हुने त विज्ञानबाटै हो । अनुसन्धान गर्ने संस्था नेपाल कृषि अनुसन्धान परिषद् वा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पनि छ । त्यहाँभित्र चाहिने जनशक्ति त त्यही विषय पढेकाहरूबाट उपलब्ध हुन्छ । त्यहाँ वैज्ञानिक बन्नसक्छन् । डाक्टर वा इन्जिनियर नबन्ने बित्तिकै विज्ञान पढेको अर्थ छैन भन्ने हुँदै होइन । त्योबाहेक पनि विज्ञान पढेका जनशक्तिको धेरै राम्रो ‘स्कोप’ छ । स्वदेश र विदेशमा पनि ‘स्कोप’ छ । उनीहरूले राम्रो गर्न सक्छन् । गरिरहेका छन् । मास्टरमात्र हुने भन्ने विषयका रूपमा विज्ञानलाई सोच्नुहुँदैन ।  


(लिट्टिल एन्जेल्स स्कुलका प्रिन्सिपल शर्माले प्रकृति अधिकारीसँग गर्नुभएको कुराकानीमा आधारित)