• १८ असार २०८१, मङ्गलबार

नेपाल र बंगलादेशको खेल बराबरी

blog

नेपाल र बंगलादेश लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै । तस्बिर : एनएसजेएफ

काठमाडौं, साउन १७ गते । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशले ६३औं मिनेटमा मोहमद पियास अमहेद नोभाको गोलमा सुरुवाती अग्रता लियो । त्यसपछि ६८औं मिनेटमा नेपालका निरन्जन मल्लले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । यसअघि दुवै टोली १० खेलाडीमा समेटिएका थिए । मैदानमा झगडा गरेपछि नेपालका दिपेश गुरुङ र बंगलादेशका सहिदुल इस्लामले रातो कार्ड पाउनुभएको थियो ।

बराबरीसँगै चार खेलबाट १० अंक बनाएको बंगलादेश फाइनलमा पुगेको छ । समान खेलबाट सात अंक बनाएको नेपालको पनि फाइनल पुग्ने गणितिय सम्भावना जिवित छ । नेपाल दोस्रो स्थानमा छ । नेपाल फाइनल पुग्ने वा नपुग्ने तय केही बेरमा हुने भारत र माल्दिभ्सबीचको खेलले निर्धारण गर्नेछ ।

यदि भारतलाई माल्दिभ्सले हराएमा नेपाल फाइनलमा पुग्नेछ । यसअघि ६ अंक बनाएको भारतलाई फाइनल पुग्न माल्दिभ्सलाई बराबरीमा रोके पुग्नेछ । एक एक अंक बनाएका माल्दिभ्स र श्रीलंका यसअघिनै प्रतियोगिताबाट बाहिरिएका छन् ।